फिक्कल । सूर्योदय नगरपालिकाको मानेडाँडाबाट अन्तुको छिरुवा जोड्ने सडक कालोपत्रे शुरु भएको छ । ८ किलोमिटर मध्ये पहिलो खण्डमा डेढ किलोमिटर कालोपत्रे गर्ने काम शुरु भएको हो । मानेडाँडा कट्टेबुङ, मझुवा हुँदै सूर्योदय–४ अन्तुको छिरुवासम्म सडक जोडिनेछ । जुन सडक अन्तु जानका लागि सबै भन्दा छोटो दुरीको सडक हो ।
सूर्योदय नगरपालिकाको–१ करोड र संघीय सरकारको १ करोड समपुरक अनुदान गरी २ करोडको लागतमा बुद्ध निर्माण सेवाले उक्त सडक कालोपत्रे गर्ने काम थालेको नगर प्रमुख रण बहादुर राईले जानकारी दिए । पहिलो चरणको काम सकिए पछि थप १ किलोमिटर सडक कालोपत्रे गरी बर्सेनी काम अगाडी बढाइने राईले जानकारी दिए ।
सडक अनुगमन गर्दै नगर प्रमुख राईले पर्यटकीय क्षेत्र अन्तु जानका लागि बैकल्पिक तथा छोटो दुरीको मार्ग तयार हुने बताए । उनले बर्खा हिलाम्मे हुने उक्त सडक कालोपत्रे भए पछि स्थानीयलाई आउजाउ र ढुवानीमा सहज हुनुका साथै कृषि उपज बजार सम्म सहज हुने बताए । सूर्योदय नगरले १४ वटै वडामा बाह्र महिना यातायत संचालन हुने गरी सडक ग्राभेल र कालोपत्रे गर्ने काम गर्दै आएको छ ।