सन्दकपूर । इलामको हिमाली क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएको छ । इलामको पर्यटकीय क्षेत्र मानेभञ्ज्याङ्गदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्र अहिले हिमपात भएको छ । गएरातिदेखि शुरु भएको वर्षातपछि बाक्लो हिमपात भएको हो ।

वर्षातसँगै भएको हिमपातले इलामको २५ सय मिटरदेखि माथिल्लो क्षेत्र सेताम्मे रहेको छ । ३ हजार ६ सय ३६ मिटरको उचाईमा रहेको पर्यटकीय क्षेत्र सन्दकपुरमा यस वर्ष दोस्रो पटक हिमापात भएको हो । भारि वर्षपछि सन्दकपुर पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भएको पर्यटन व्यवसायी रिञ्जि सेर्पाले बताए ।

कोशी प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र घोषणा भएको सन्दकपुर क्षेत्रमा पर्यटकको सुविधाका लागि चल्दै आएका गाडिहरु अहिले चल्न सकेका छैनन् । पर्यटक लिएर सन्दकपुर जाँदै गरेका गाडिहरु बाक्लो हिमपातका कारण समस्यामा परेका छन् । वर्षातसँगै परेको हिमपातले अहिले इलामको मानेभञ्ज्याङ्ग, लामिधुरा, थुम्के, जौबारी, तुम्लिङ्ग, मेघमा, कालपोखरी, बिखेभञ्ज्याङ्ग, सन्दकपुर र फालुट पर्यटकीय क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ । तुम्लिङ्ग र जौबारीमा पनि हिमपात भइरहेको छ ।

भारतीय सीमा क्षेत्रको सन्दकपुर पर्यटकीय क्षेत्रमा पुगेका पर्यटकहरु बाक्लो हिमपातका कारण हिडडुल गर्न नसेकको र चिसो अत्याधिक भएकाले घरबाहिर सार्वसाधारण निस्कन सकेका छैनन् । भारतीय क्षेत्रमा सिंहलिला नेसनल पार्कको जंगल रहेकाले भारत भएर आउने पर्यटकहरु नेपाली क्षेत्रमा खुलेका होटलहरुमा बास बस्दै आएका छन् ।