Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

समुदायको सक्रियताले जनक माविको सुधारियो शैक्षिक गुणस्तर (फोटो फिचर )

समुदायको सक्रियताले जनक माविको सुधारियो शैक्षिक गुणस्तर (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • शुक्रबार, चैत्र ३ २०७९


समुदायको सक्रियताले जनक माविको सुधारियो शैक्षिक गुणस्तर (फोटो फिचर )

अन्तु । इलामको सुर्योदय नगरपालिका ४ स्थित जनक माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका कार्यक्रमले अहिले विद्यार्थीको संख्यामा वृद्धि आएको छ । सामुदायीक विद्यालयको गुणस्तर खस्किरहेको बेला समुदाय नै सक्रिय भइ विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सक्रिय भएसँगै जनक माध्यमिक विद्यालय सूर्योदय नगरपालिकाको उत्कृष्ट नतिजा ल्याउने विद्यालय बनेको छ ।


जनक माध्यमिक विद्यालयमा बाल शिक्षा देखि कक्षा १२ सम्म अध्ययन हुन्छ । २०३० सालमा स्थापना भएको विद्यालयमा ३ सय ८९ विद्यार्थी छन् ।
बाल कक्षामा बालबालिकाहरुलाई मनोरञ्जनका माध्यमबाट अध्यापन गराइन्छ । विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकबाट दैनिक र बार्षिक पाठयोजनाको प्रयोग, शिक्षण सुधार योजना निर्माण र प्रयोग हुने गरेको शिक्षक नगेन्द्र प्रसाद नेपालले बताए ।


विद्यार्थीको नतिजा राम्रो बनाउन विद्यालय प्रशासन र अभिभावकबाट नियमित कक्षा अनुगमन हुन्छ । जसका कारण विद्यालयको शैक्षिक अवस्थामा सुधार आएको व्यवस्थपान समितिका अध्यक्ष रामप्रसाद ढकालले बताए ।


आर्थिक श्रोत भएपनि व्यवस्थापन नभइरहेको विद्यालयमा अहिले आर्थिक अवस्था सुधार गरि प्रविधिमैत्री विद्यालय निर्माणमा लगानी बढाइएको शिक्षक अभिभावक संघको संयोजक भरत कुमार लामिछानेले बताए । एकाइ परिक्षा संचालन, नियमिति नतिजा विश्लेषण र अभिभावकसँगको अन्तरक्रियाले गर्दा विद्यालयको शैक्षिक गुणस्तरमा सुधारमा सहयोग पुगेको प्रधानाध्यापक बेनुभक्त खनालले बताए ।


जनक माध्यमिक विद्यालय २०७८ एसईईमा सूर्योेदय नगरपालिकाको सामुदायीक विद्यालयमध्ये उत्कृष्ट हो । विद्यालयका कक्षाकोठालाई सफा र सुन्दर बनाउन बिषेश ध्यान दिइएको विद्यार्थी अनुराग घिमिरेले बताए । विद्यार्थीमा प्राविधिक ज्ञान विकासका लागि कम्प्युटर कक्षा, विज्ञान प्रयोगशाला, खेलकुद, व्यवस्थित पुस्तकालय र रचनात्मक क्रियाकलापमा प्राथमिकता दिइएको हो ।


शैक्षिक गुणस्तर सुधारका लागि गरिएका गतिविधिले जनक माविमा अहिले निजी विद्यालय छोडेर अध्ययनका लागि आउने विद्यार्थीको संख्या बढ्दो छ । सरकारी विद्यालयमा पनि राम्रो पढाई हुदैन भन्ने भ्रम आफु जनक माध्यमिक विद्यालयमा अध्ययन थालेसँगै हराएको अनुजा ढकालले बताइन् ।


विद्यालयको शैक्षिक सुधारका लागि शिक्षक आचारसंहिता पालनबारे अभिलेख समेत राखिएको छ । विद्यालयमा प्रयोगात्मक कक्षासँगै आधुनिक प्रविधिको माध्यमबाट समेत अध्ययन गराइदै आएको विद्यालयका गणित विज्ञान  शिक्षक  सुनम राईले बताए ।


विद्यालयमा अहिले बाल क्लब पनि सक्रिय रहेको छ । बाल क्लब गठन गरि विद्यालयमा विद्यार्थीहरुले रचनात्मक काम समेत गर्दै आएका छन् । विद्यालयको सरसफाई गर्ने लगायतका काममा सक्रिय रहेको बालक्लबले गरेको रचनात्मक कामले विद्यार्थीहरुमाझ प्रतिभाहरुको पहिचान समेत हुन थालेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार