चुलाचुली । चुलाचुली रंगमञ्चले नाटक उत्सबको आयव्यय सार्वजनिक गरेको छ । “बिश्वब्यापीकरणमा ग्रामीण सौन्दर्यको खोजी” नारा रहेको इलामको चुलाचुली थिएटर द्वारा आयोजित चुलाचुली पाठशाला नाट्य उत्सव दोस्रो संस्करणको आय-व्यय सार्वजनिक गरिएको हो । रंगमञ्चले आम्दानीमा ६ लाख १३ हजार ५१०, खर्च मा ५ लाख ५३ हजार र संस्थाको कोषमा ५० हजार ५१० रुपैयाँ रहेको आय, व्यय तथा प्रगति प्रतिवेदन पत्र प्रस्तुत गरेको थियो ।
चुलाचुली गाउँपालिकालाई कदर (धन्यवाद) पत्र प्रदान गरेको छ । पालिका अध्यक्ष राजेन्द्र केरुङको कार्यकक्षमा पुगेर रंगमञ्चका अध्यक्षद्धारा कदर पत्र प्रदान गरेको हो । चुलाचुली रंगमञ्चको दोस्रो संस्करण चुलाचुली पाठशाला नाट्य उत्सव २०७९ आयोजनाका लागि चुलाचुली गाउँ पालिकाद्धारा २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको थियो ।

यो बजेट कला, नाट्य क्षेत्रको लागि पालिकामै पहिलो मोटो बजेट थियो । स्थानीय सरकारको कला, नाट्य क्षेत्रको विकास प्रति सकरात्मक सोच परिवर्तन हुँदै आएको यस बजेट विनियोजनले समेत प्रष्ट पार्ने स्रोतले जनाएको छ । चुलाचुली ४, आइतबारे बजार स्थित संस्थाको आफ्नै भवनमा भएको आय-व्यय सार्वजनिक कार्यक्रममा नाटकका सम्पुर्ण निर्देशकहरुको समेत उपस्थिति रहेको थियो ।

सम्पुर्ण निर्देशकहरुले उत्सवभरको अनुभवहरु सेयर गर्दै कार्यक्रमको समीक्षा गरेका थिए । कार्यक्रममा कार्यक्रम संयोजक,व्यवस्थापन संयोजक र प्रचारप्रसार संयोजकको तर्फ बाट कार्यक्रमको सम्पुर्ण आय ब्ययको प्रतिवेदन समेत पेश गरिएको थियो । कार्यक्रम सफल बनाउन स्थानीय पालिका, चुलाचुली–४ ,संघ, संस्थाहरु साथै प्रवासमा रहेका सृजनशिलप्रेमीहरुले आ-आफ्नो तरिकाले आर्थिक सहयोग गरेका थिए, जस मध्ये चुलाचुली हङकङ समाज को मुख्य सहकार्य रहेको थियो ।
गत माघ १० र ११ गते चुलाचुली वार्ड नं ३ स्थित पर्यटकीय स्थल शिवओरक मिलन पोखरीमा आयोजित उक्त कार्यक्रममा चुलाचुली भरिका ५ वटा बिधालय हरु संगै झापा र मोरङ गरि जम्मा १० वटा नाटकहरु मञ्चन भएको थियो । बिद्यार्थीहरुको सिकाई प्रणालीलाई चौतर्फी र चेतनाको स्तरलाई थप फराकिलो बनाउने उद्देश्यले आयोजित उत्सवमा नाट्य कार्यशाला र चित्रकला कार्यशाला समेत रहेको थियो ।
संस्थाका संस्थापक अध्यक्ष चेतन आङ्थुपोको संयोजकत्वमा भएको कार्यक्रमलाई संस्थाको सचिब सन्तोष गिरीले सञ्चालन गरेका थिए ।
