Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

अफ्रिकी खेलाडी प्रेरित खेलमा भद्रपुरको विजयी सुरुवात

अफ्रिकी खेलाडी प्रेरित खेलमा भद्रपुरको विजयी सुरुवात

  • सन्देश सम्वाददाता
  • सोमबार, फाल्गुन ८ २०७९


अफ्रिकी खेलाडी प्रेरित खेलमा भद्रपुरको विजयी सुरुवात

इलाम : अफ्रिकी खेलाडी प्रेरित खेलमा पाहुना टोली जयगाउँ एफसीलाई हराउँदै घरेलु टोली भद्रपुर ब्लेजर्सले भ्रदपुर झापा गोल्डकपमा विजयी सुरुवात गरेको छ। मेची रंगशाला भद्रपुरमा जारी प्रतियोगितामा भद्रपुरले पाहुना टोलीलाई २–० ले पराजित गरेको हो। भद्रपुरका लागि दुवै गोल विदेशी खेलाडीले गरे।

पहिलो हाफ बराबरीमा सकिएको खेलको ५५ औँ मिनेटमा आयोजकका तर्फबाट स्टेफन समीरले गोल गरे। मेसुके ओलोमोउलेको पासलाई डि(बक्समा रहेका स्टेफनले गोलमा परिणत गरे। दोस्रो गोल ८० औँ मिनेटमा आयोजकका मेसुकेले गरे।

खुमलटार युथ क्लबका अधिकांश खेलाडी लिएर मैदानमा उत्रिएको आयोजकलाई पाहुना टोली जयगाउँले दबाबमा राखेको थियो। खेलको पाँचौं मिनेटमा गोलरक्षक विट भएको अवस्थामा स्टेफनको प्रहार बारमा लागेर फर्किएको थियो। २२ औं मिनेटमा वान भर्सेस वानको अवस्थामा जोखिम मोल्दै जयगाउँका गोलरक्षक विशाल लामाले डि-बक्स बाहिर हेडरमार्फत बल क्लियर गरे।

३४ औं मिनेटमा स्टेफनको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो। दोश्रो हाफमा आयोजकले केही मुभ बनाउन सफल रह्यो। ६० औं मिनेटमा मेसुकेको प्रहार गोलरक्षकले बाहिर पठाए।

६७ औं मिनेटमा मेसुकेको हेडर पोष्टभन्दा माथिबाट बाहिरियो। लगत्तै वान भर्सेस वानमा मेसुेकको प्रहार गोलरक्षकले बचाए। पहिलो खेलको प्लेयर अफ द म्याच आयोजकका मेसुके घोषित भए। उनले नगद २० हजार पुरस्कार पाए।

पुरस्कारको सौजन्य मनोज सुब्बा तथा परिवारले पिता वीरहाङ लिम्बूको स्मृतिमा गरेका थिए। पोष्ट म्याच कन्फ्रेन्समा विजेता टिमका प्रशिक्षक हरि खड्काले पहिलो हाफमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा गोलका लागि दोश्रो हाफ कुर्नुपरेको बताए।

अग्रता कायम गरेपछि खेलाडीहरुको मनोबलका कारण दोश्रो गोलसमेत निस्किएको उनले बताए। पराजित टिमका प्रशिक्षक विकास प्रधानले पहिलो पटक नेपालमा खेल्न आएकाले मैदानको अनुभव नहुँदा पराजित भएको प्रतिक्रिया दिए। उनले सिक्किम लिगका कारण केही महत्वपूर्ण खेलाडी नहुँदा पराजित बनेको बताए।

नेपालको सहभागिताले अनुभव लिने अवसर पाएको बताए। भद्रपुर ब्लेजर्सले मंगलबार क्वार्टरफाइनलमा संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। संकटा बाई पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको हो। सोमबारको खेल विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने हुनेछ । आइतबार सुरु भएको प्रथम भद्रपुर झापा गोल्डकप फागुन १६ गतेसम्म हुनेछ। गोल्डकपमा ३ विदेशीसहित १० टिमको सहभागिता रहेको छ।
उपप्रधानमन्त्रीले गरे उद्घाटन
​प्रतियोगिताको उद्घाटन उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले गरे। उद्घाटन गर्दै लिङ्देनले मेची रंगशालाको अवस्था सुधारका लागि गोल्डकपको महत्त्वपूर्ण योगदान रहेको बताए। उनले मेची रंगशालाको विकासमा आफू सधैँ लाग्ने बताए।

आयोजक भद्रपुर–झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले गोल्डकप मेची रंगशालाको पुनर्जीवनका लागि आयोजना गरिएको बताए। उनले यो गोल्डकपले भद्रपुरको निराशाजनक व्यापार पनि सुधार गर्ने अपेक्षा गरेको बताए।

उद्घाटनमा अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले मेची रंगशालाले खेलाडी उत्पादनमा ठूलो काम गरेको बताए। उनले यहाँ भारतीय राष्ट्रिय टोलीका सदस्य एवम नेपालका पूर्व प्रशिक्षक श्याम थापालगायत चर्चित खेलाडीले खेलिसकेको बताए।

भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकाल, प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले लगायतले बोलेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार