रोङ (अर्याल चौक ) । इलामका ग्रामीण भेगमा उत्पादन भएको सागले बजार नपाएको सुनिन्छ । इलामका ग्रामीण र लेकाली क्षेत्रमा उत्पादन हुने साग तरकारीको रुपमा प्रयोग गरेपछि रहेको साग त्यतिकै खेर जान्छ । तर जिल्लाको रोङ गाउँपालिकाले ग्रामीण क्षेत्रका किसानले फलाएको साग खेर जान नदिन गुन्द्रक ब्रान्डिङ गरि आम्दानीको गोरेटो कोरेको छ । गाउँपालिकाले गुन्द्रुक ब्रान्डिङको काम अहिले अन्तिम चरणमा पुगेको छ ।

किसानले उत्पादन गरेर खेर गइरहेको सागबाट गुन्द्रुक तयार गरि बजारमा बिक्रिबाट आम्दानी गर्ने योजनाका साथ गाउँपालिकाले काम शुरु गरेको अध्यक्ष मनिकुमार स्याङ्बो ‘सुबास’ ले बताए । उत्पादन भएको गुन्द्रुकलाई गाउँपालिकाले ब्रान्डिङ गर्ने काम अन्तिम चरणमा पु¥याएको छ ।

उत्पादन र बजारीकरणमा सरकारले चासो नदिँदा किसानले उत्पादन गरेको कृषि उपज खेर गइरहेको अवस्थामा रोङ गाउँपालिकाले ग्रामीण अर्थतन्त्र विकासका लागि गुन्द्रुक ब्रान्डिङ कोसेढुङ्गा सावित हुने उपाध्यक्ष बिष्णुमाया भुजेलले बताइन् । अब गुन्द्रुक बनाउन साग बिक्रि गर्ने किसानले राम्रो मूल्य पाउने अपेक्षा छ । उत्पादित तरकारी खेर जान नदिने यस कार्यक्रमले किसानलाई हौसला प्राप्त भएको अध्यक्ष तामाङले बताए ।

स्थानीय उत्पादनलाई बढावा दिइने र उत्पादित वस्तु बजारसम्म पु¥याउनका लागि काम थालिएको गाउँपालिकाका अध्यक्ष तामाङको दाबी छ । गाउँपालिकाले गुन्द्रुक–सिन्कीको प्रवद्र्धनका लागि आवश्यक प्रक्रिया अघि बढाएको छ । पालिकाका अगुवा किसानहरूलाई प्रदेश, पालिका र स्थानीय सहकारीको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । बजारमा खपत हुने तरकारी पनि स्थानीय बजारमा स्टल निर्माण गरि बिक्रि गर्ने योजना गाउँपालिकाको छ ।

खपत नभएको साग र मूलालाई व्यवस्थापन गर्दै गुन्द्रुक–सिन्की तयार गरिने भएको र यो आर्थिक वर्षसम्ममा खाध्य अनुमति पत्र लिने लक्ष्य रहेको अध्यक्ष तामाङको दाबी छ । उत्पादित सिन्की–गुन्द्रुकलाई प्रवद्र्धन गरेर किसानको आयस्तर वृद्धि गर्ने मुख्य कार्यक्रम रहेको हो । प्रत्येक किसानले उत्पादन गरेको सागलाई संकलन गरि प्रशोधनबाट आवश्यक लेबलिङ गर्ने गरी कार्यक्रम सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र दाहालले बताए । उत्पादित ताजा साग बजारमा बिक्री गर्ने योजना पनि गाउँपालिकाको छ । पालिकाले किसानलाई गुद्रुकलाई प्रतिकेजी ८० रुपैयाँका दरले अनुदान सहयोग गर्ने गाउँपालिकाको योजना रहेको छ ।
गाउँपालिकाले सुरुवाती तीन महिना गुन्द्रुक–सिन्की लेबलिङका लागि फुड टेक्निसियन समेत नियुक्त गरी हाल ब्रान्डिङको प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । देवान छाप साना किसान कृषि सहकारीले कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । यसका लागि गाउँपालिकाले दातृ संस्थाको साथ पाएको छ । ६७ लाख ८५ हजार रुपैयाँको कार्यक्रमका लागि स्विस सरकारले ३४ लाख ४५ हजार रुपैयाँ उपलब्ध गराउने छ । पालिकाले १७ लाख ६० हजार र सहकारीले १५ लाख ८० हजार लगानी गर्नेछन् ।

देवान छाप साना किसान कृषि सहकारीको साना किसान कृषि प्रशोधन उद्योग मार्फत उत्पादन, ब्रान्डिङ, प्याकेजिङ एवम् मार्केटिङको सबै कार्य गर्नका लागि अन्तराष्ट्रिस्तरको उत्पादन हुने प्राविधिक दिक्षा भट्टराईले बताइन् ।

उनका अनुसार यस वर्ष एक हजार किलो गुन्द्रक उत्पादन गर्ने लक्ष्य रहेको छ । पहिलो चरणको उत्पादनको ड्रायरका लागि स्थानीय व्यवसायी कुमार अर्यालको उद्योगलाई प्रयोग गरिएको छ ।

चालू आर्थिक वर्षमा सहकारीको जग्गामा उद्योग स्थापना गर्ने तयारी अघि बढेको छ । अहिलेसम्म ब्रान्डको नाम तय नभए पनि गुन्द्रुक सिन्कीको प्याकेट डिजाइन र ब्रान्ड नाम राखेर बजारमा ल्याइने भएको छ । राष्ट्रिय सम्मान बोकेको वस्तुलाई प्रवद्र्धनका लागि अगाडि के थप्ने निर्णय भइनसकेको अध्यक्ष तामाङल्े बताए ।

पालिकाले हरेक वर्ष एक÷दुई वटा उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ अध्यक्ष तमाङले भने–‘ आयात प्रतिस्थापन गर्दै स्वदेशी उत्पादनलाई बढावा दिइने गाउँपालिकाको योजना छ ।’ चालू वर्षको नीति तथा कार्यक्रममा गाउँपालिकाले गुन्द्रुक प्रवद्र्धनका लागि ब्रान्डिङ र प्याकेजिङ गर्न ३ लाख, बीउका लागि २ लाख, प्रतिकिलो अनुदानका लागि ३ लाख र गुन्द्रुक उत्पादनमा प्रतिस्पर्धा गरी उत्कृष्ट सहकारीलाई पुरस्कृत गर्न २ लाख रुपैयाँ विनियोजन गरेको छ ।

उत्पादन अगाडिको अनुदानलाई निरुत्साहित गर्दै जनता र स्थानीय सरकारबीच साझेदारीपछि कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गरिने छ । किसानको उत्पादन सहकारीले खरिद गर्ने वातावरणको विकास गर्नुका साथै अनिवार्य कृषि, पशु बिमा लागू गर्ने गाउँपालिकाको योजना छ ।