इलाम : गाउको रौनकमा केहि दिनदेखि भिन्नता देखिएको छ । कोही ढिकी कुट्न व्यस्त छन् त कोही जातो पिध्न । कोहि धान सुकाएर कुट्ने तयारीमा जुटेका छन् त कोहि टपरा दुहुना वोता उन्नमा । माघको कठ्याङ्ग्रिने जाडो यो पटक छैन । दिनभर घाम लागेकाले गाउलेलाई हरेक काममा सहजता भएको छ । यूवाहरुको एउटा टोली टोल र वाटो घाटो सरसफाईमा साता दिन अघिदेखि अवरोत्र खटेको छ ।
अतिथिलाई सयपत्रीको माला उन्ने चेलीहरुको पनि कमि छैन । गाउका पर्यटकीय स्थलहरु चन्द्रपाल थेवे ढापपोखरी र हा“गेथाम जस्ता क्षेत्रलाई चिरिच्याट्टै पार्न पनि कुनै कन्जुस्याई बा“की देखिदैन । यो रौनक हो जिल्लाको उत्तरी सन्दकपुर गाउपालिका वडा नं। ५ जमुनाको । स्थानीयको पहलमा निर्माण भएको बौद्ध गुम्वाको उद्घाटन समारोहकालागि यो तयारी गरिएको हो ।
तीन दिनसम्म चल्ने कार्यक्रममा १० हजार धेरै धर्म अनुयायीलाई गाउ भित्र्याउने लक्ष्य लिएको आयोजकले आगन्तुक सवैलाई अर्गानिक स्वागत गर्नको निम्ती यो तयारी गरेको हो । कार्यक्रममा सम्भव भएसम्म गाउ“मा नै भएका सामाग्रीको प्रयोग गरिदै छ । जस्तो स्वागत गेटकालागि धुपी सल्लासहित काठ र बाँसको प्रयोग । खाद्य सामाग्रीमा पनि स्थानीय उत्पादन मात्रै प्रयोग गर्ने ध्येयले बेसी माइटारको धान मात्र हैन लेकाली हाँगेथाम, पिप्लेलगायत क्षेत्रको मकैसहित त्यहा“को उत्पादन अतिथिलाई चखाउने उनीहरुको उदेश्य छ ।
‘यो कार्यक्रमलाई धार्मिक र पर्यटकीय हिसावले महत्वपूर्ण वनाउने अभियान हो,’ गुम्वा निर्माण तथा आयोजनमा सक्रिय ठाकुर गुरुङले भने, ‘कार्यक्रममा नेपाल र भारतसहित गुम्वा निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अन्य देशका धर्मालम्वी पनि आउने भएकाले कार्यक्रमलाई विषेश वनाउन खोजिएको छ ।’
यो क्षेत्रमा गुरुङ, शेर्पालायतको वाक्लो बसोबास छ । जमुनाको घुम्तीडाँडा भन्दा केहि माथि रहेको पुरानो गुम्वा जिर्ण वन्दै गएपछि ‘साङ् छयोलिङ बौद्ध गुम्वा’लाई करिव २ करोड खर्चेर भव्य वनाइएको हो । गुम्वा निर्माणदेखि आयोजना हुन लागेको कार्यक्रमकालागि बौद्धधर्मालम्वी मात्र हैन अन्य धर्मालम्वीहरुको पनि उत्तिकै सकृयता हुनुले यहा“को धार्मिक र सामाजिक सहिष्णुतालाई पनि प्रश्ट्याउछ ।
यो अवसरमा स्थानीय युवाहरुलाई धार्मिक र सामाजिक अभियानमा समेट्दै समग्र गाउ“को परिचयलाई उचो वनाउने अभियानमा लागेको लामो समयसम्म कोरिया बसेर गाउ“ फिरेका दर्पण गुरुङ वताउछन् । धार्मिक र सांस्कृतिक पाटोलाई उजागर गर्दै युवापुस्ता माझ हस्तान्तरणकालागि पनि यसलाई अवसरको रुपमा लिइएको उनको भनाई छ ।
माघ २२ देखि २४ गते हुने उद्घाटन समारोहमा धार्मिक व्यक्तित्वसहित समाजका विभिन्न क्षेत्रका अगुवाहरुको उपस्थिती रहनेछ । कार्यक्रममा उपाध्यय खेन रिन्पोछे साङ्गे रङच्युङको उपस्थिती विषेश रहने आयोजनामा सकृय इन्द्र गुरुङले वताए । तीन दिनसम्म चल्ने समारोहमा धार्मिक, सांस्कृतिकलगायतका विविध कार्यक्रम आयोजना हुनेछन् ।
सदरमुकाम इलामवाट २५ किलोमिटर उत्तरमा रहेको भारतीय सीमावर्ती यो गाउ“ धार्मिक, सांस्कृतिक, जैविक विविधताले धनी छ भने पर्यटकीय हिसावले पनि महत्वपूर्ण मानिन्छ ।