इलाम । नेपाली राष्ट्रिय टोलीका सदस्यहरु विदेशिने सुचीमा मिडफिल्डर विशाल राई पनि थपिएका छन् । सुरक्षित भविष्यको खोजीमा राई अष्ट्रेलिया तर्फ गएका हुन् । शहिद स्मारक लिग नजिकिदै गएपनि झापाको अर्जुनधारा नगरपालिकाका विशाल मछिन्द्र क्लब छाडेर शुक्रबार अष्ट्रेलिया तर्फ लागे ।
उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा मछिन्द्र क्लबका उपाध्यक्ष अनिल श्रेष्ठ पुर्व सहकर्मी रजिन धिमाल, पुजन उपकोटी, विशाल श्रेष्ठ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ लगायतले विदाई गरे । २०७६ र २०७८ को लिग बिजेता मछिन्द्र क्लबका महत्वपुर्ण सदस्य विशालले २०७५ को लिग मनाङ मस्र्याङदीबाट जितेका थिए ।
उनले व्यवसायिक करियर मछिन्द्रबाट सन् २००८ मा सुरु गरेका थिए । सरस्वती र मनाङमा समेत केही बर्ष बिताए । एन्फा एकाडेमीका उत्पादन विशालले नेपालको विभिन्न उमेर समुहबाट खेल्दै सन् २०१४ बाट सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । राष्ट्रिय टोलीबाट २८ क्याप जित्दै ३ गोल समेत गरेका थिए ।
उनले सन् २०१५ मा भारत विरुद्धको मैत्रीपुर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका थिए । सन् २०१६ को बगबन्धु गोल्डकपमा माल्दिभ्स विरुद्ध डेब्युु गोल गरेका थिए । त्यसपछि लाओस विरुद्धको मैत्रीपुर्ण खेल र सन् २०१९ को एएफसी एसियनकप छनौटमा फिलिपिन्स विरुद्ध गोल गरेका थिए ।
पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र ’ए’ डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा थुप्रै खेलाडी विदेशिएका छन् । विगत २ बर्षमा राष्ट्रिय टोलीमा रहेका १५ जना भन्दा बढि खेलाडीहरु पलायन भइसकेका छन् ।
