इलाम। परम्परागत खेती प्रणालीलाई यान्त्रीकरण गर्न इलाम नगरपालिकाले किसानलाई आधुनिक कृषि उपकरण हस्तान्तरणलाई तिब्रता दिएको छ । कृषि पेशाबाट किसानहरु विस्थापित हुन नदिन नगरपालिकाबाट कृषि उपकरण हस्तान्तरण गरिँदै आएको हो ।
इलाम नगरपालिकाको भु–भाग मध्ये सहरी क्षेत्र कम र गाउँ धेरै छ । पहाडी भु–वनोटका कारण यहाँ धेरै किसान कृषि पेशामा आवद्ध छन् । परम्परागत खेती प्रणालीमा आवद्ध किसानहरु खर्चिलो खेती प्रणालीका कारण पेशाबाट विस्थापित हुन थालेपछि प्रविधि हस्तान्तरण इलाम नगरपालिकाले थालेको छ ।
परम्परागत कृषि पेशालाई यान्त्रिकरणबाट व्यवसायी बनाउन नगरपालिकाले कृषि यन्त्र वितरण थालेको हो । कृषि पेशाबाट किसान विस्थापित हुने क्रम रोक्न कृषि यन्त्रसँगै प्राविधिक ज्ञान हस्तान्तरणको गरिँदै आएको हो ।

किसानलाई चिया काट्ने मेसिन, बारि जोत्ने पावर टिलर, कुटानी पिसानीका लागि मिल प्रदान गरिएको इलाम नगरपालिका १ का अध्यक्ष गायत्री बस्नेतले बताए ।
व्यवसायीक कृषि र दुग्ध उत्पादन अधिक हुने इलाम नगरपालिकाल १ बाट किसानका हातमा अहिले प्रविधि पुगेको हो । पावर टिलर हस्तान्तरण गरेपछि किसानले अहिले बारीमा जोत्न गोरु पाल्नुपर्ने बाध्यता हटेको छ ।

चिया टिपाई र कटिङका लागि मेसिन हस्तान्तरणले किसानलाई चिया टिप्न र काट्न सहज भएको हो । कृषि उपकरण किसानसँगको लागत साझेदारीमा वितरण गरिएको नगर प्रमुख केदार थापाले बताए । कृषि क्षेत्रमा व्यवसायीक र यान्त्रीकरणमा सबै वडाहरुमा बजेट विनियोजन गरिएको इलाम नगर प्रवत्ता नुतनदेव दुलालले बताए ।
किसानलाई कृषि यन्त्र र प्रविधि हस्तान्तरणको काम कृषि ज्ञान केन्द्रले समेत गर्दै आएको छ । जसका कारण किसानहरुका बारिमा कृषि यन्त्र प्रयोगको क्रम बढेको छ ।