इलाम : इलाम नगरकप फुटबलमा वडा नं १२ साङरुम्बाले बिजयी सुरुवात गरेको छ । इलाम नगर खेलकुद विकास समितिको आयोजनामा ठुलो टुडिखेलमा आजबाट सुरु भएको प्रतियोगितामा वडा नं १२ ले वडा नं २ लाई पराजित गरेको हो । साङरुम्बाको जितमा दिनेश राई निर्णायक बने ।
दोश्रो हाफमा उनले गोल गरेका थिए । गोलकर्ता राई खेलको म्यान अफ दि म्याच घोषित भए । नगर खेलकुद समितिले आयोजना गरेको प्रतियोगिताबाट खेलाडीहरुको प्रर्दशनको आधारमा इलाम जिल्लाको लागि एउटा टीम छनौट गरिने छ ।

त्यस्तै माईभ्याली गोल्डकपको लागि यसै प्रतियोगितालाई आधार बनाएर खेलाडी छनौट गर्ने जनाइएको छ । प्रतियोगितामा आफ्ना वडा वाहेक जिल्ला भित्रका ४ जना खेलाडी प्रत्येक टीमले समावेस गराउन पाउने पनि आयोजकले जनाएको छ ।

मंंगलबार वडा नम्बर ७ र वडा नम्बर ११ को खेल दिउँसो २ वजेबाट ठूलो टुँडिखेलमा शुरु हुने छ ।नगर खेलकुद विकास समितिका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा भएको उद्धघाटन कार्यक्रममा इलाम नगर प्रमुख केदार थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बोल्दै थापाले नगरको खेलकुद विकास लागि सकारात्मक रहेको बताए । उनले नगरको समृद्धिको पाटोको रुपमा खेलकुदलाई समेत प्राथमिकतामा राखेर अघि बढाइने उनले बताए ।