इलाम । लोप हुन लागेको भाषा, सस्कृति संरक्षणका लागि इलामको सन्दकपूर ४ का गुरुङ समुदाय अहिले सक्रिय भएका छन् । पूर्णरुपमा आफ्नो भाषा संस्कृति र धर्म परम्परा लोप हुनबाट जोगाउन अहिले माबु क्षेत्रका गुरुङ समुदायको सक्रियताले परिणाम पनि देखिन थालेको छ ।

सन्दकपूर ४ माबु गाउँमा ९७ प्रतिशत आदिवासी जनजाति समूदायको बसोबास छ । त्यसमा पनि गुरुङ समूदायको बसोबास गर्ने परिवार संस्था ३ सय छ । पश्चिम नेपालबाट बसाई सर्दै पूर्वी नेपाल आइपुगेका गुरुङ समुदायको धर्म, रितिरिवाज, भाषा र संस्कृति हराउँदै गएको थियो । यहाँ बसोबास गर्ने गुरुङ समूदायमा पनि त्यसको असर परेकै थियो ।

तर भाषा र सस्कृति संरक्षणमा गुरुङ समूदायका अगुवाको सक्रियताले सन्दकपूर ४ मा अहिले सार्थकता पाएको छ । वौद्य धर्ममा आस्थावान गुरुङ समुदायले शुरुमा धर्मको बारेमा खुबै प्रचार मात्रै गरेनन्, आफ्ना युवापिढिलाई अध्ययन नै गराए ।

१५ वर्ष अघि देखिको वौद्य धर्मको संरक्षणको अभियानसँगै भाषा र सस्कृति संरक्षणले अहिले युवापिढिमा उत्साह ल्याएको वडाध्यक्ष ढाल बहादूर गुरुङले बताए ।
गुरुङ समूदायले भाषा र संस्कृति संरक्षणका लागि पश्चिम नेपालबाट शिक्षक बोलाई युवापिढिलाई आफ्नै भाषा पढ्न अध्ययन गर्न सिकाइएको थियो ।

त्यससँगै गुरुङ समुदायको कौडा, चुड्का, घाटु नाचको प्रशिक्षण पटक पटक नै गरिएको थियो । जसले गर्दा युवापिढिमा आफ्नो सस्कृति संरक्षण बारे जागरण नै आएको हो ।

भाषा, धर्म र संस्कृति संरक्षणमा राज्यको पर्याप्त लगानी नभएपनि घरगाउँको सरकार भएकाले निरन्तर सहयोग गर्ने सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

सन्दकपूर गाउँपालिकामा इलामका अन्य पालिकाको तुलनामा गुरुङ बस्ति बाक्लो रहेको छ । यहि गाउँपालिकाको माबु गाउँमा पन्ध्र वर्ष अघिबाट आफ्नो भाषा र सस्कृति जोगाउने गुरुङ समूदायको सक्रियताले पाएको नतिजा देशका अन्य जनजाति समूदायका लागि सिकाईको बिषय बन्न सक्छ ।
