माङसेबुङ । माङसेबुङ गाउँपालिका–२ नं. वडा कार्यालयले शाखा कार्यालयबाट समेत सेवा प्रवाह गर्ने भएको छ । वडाको साविक ईभाङ–५ चित्रेमा सेवा केन्द्र रहनेगरी कार्यालय उद्धघाटन गरेको हो । गाउँपालिका अध्यक्ष हेमन्त राईले आज शाखा कार्यालयको उद्घाटन गरे । सेवा केन्द्रमा २ नं. वडा अन्तर्गत साविक ईभाङ ४, ५ र ९ वडाबासी नागरिकले सेवा लिन पाउनेछन् ।
भौगोलिक रुपमा भूगोल तथा वडाको जनघनत्व बढी भएको र सम्बन्धित वडाबासीले शाखा कार्यालयको माग हुँदै आइरहेको थियो । २ नं. वडा साविकको ईभाङ १–५ र ९ वडा गाभिएर बनिएको छ । हालको वडा कार्यालय साविकको ईभाङ ३ तथा गाविस भवनमा रहेको छ । शाखा कार्यालय उद्घाटनसँगै वडाबासी नागरिक खुशी देखिन्छन् ।
शाखा कार्यालयमा प्रत्येक हप्ताको हरेक सोमबार सेवा प्रदान गरिने वडा सचिव हेमसागर घिमिरेले वताए । उनले भने– ‘भोलि सोमबार भने सेवा प्रदान हुने छैन । भोलि पहिलो दिन भएको र आज दिनभर उद्घघाटनको अवसरमा नागरिकलाई सेवा दिईएको कारण आउने सोमबारबाट भने नियमित सेवा प्रदान गरिनेछ ।’
शाखा कार्यालयबाट वडा कार्यालयले दिने सबै सेवा दिईनेछ । सेवा अन्तर्गत पञ्जिकरणका सबै सेवा, सिफारिस लगायत सबै सेवा नागरिकले पाउनेछन् । सोमबार सार्वजनिक विदा परेमा भने त्यसको भोलिपल्ट सेवा दिईने समेत वडा सचिव घिमिरेले वताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हेमन्त राईले यहाँको जनताको सहजताका लागि विस्तारित शाखा कार्यालय खोलिएसँगै स्थानीय नागरिकले स्थानीय सरकारको अनुभूति थप विस्तार र महसुस भएको वताए ।
कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, वडा अध्यक्ष कृष्णवहादुर बस्नेत लगायत जनप्रतिनिधि, पार्टीका प्रतिनिधि एवम् नागरिकहरुको सहभागि थियो ।