माबु । गुरुङ जातिको भाषा र सस्कृति संरक्षणमा योगदान गर्ने २ जनालाई इलामको माबुमा सम्मान गरिएको छ । तमु ल्होसार पर्वको अवसरमा तमु आमा समूह सन्दकपूर ४ माबुले आयोजना गरिएको कार्यक्रममा गुरुङ जातिको भाषा र संस्कृति संरक्षणमा योगदान दिएका वृद्धवृद्धालाई सम्मान गरेको हो ।

तमु आमा समूह सन्दकपूर ५ की अध्यक्ष लिला गुरुङको अध्यक्षतामा भएको तमु ल्होसार पर्वको सुभकामना साटासाट कार्यक्रममा सम्मानित हुनेमा ९२ वर्षिय कुल बहादूर गुरुङ र ९० वर्षिय इन्द्रमाया गुरुङलाई सम्मान गरिएको हो । गुरुङ जातिको संस्कृति संरक्षणकर्मी कुलबहादूर र इन्द्रमाया गुरुङलाई प्रदेश १ सरकारकी पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बु, सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, सन्दकपूर ४ का वडाध्यक्ष ढाल बहादूर गुरुङ, प्रमुख प्रशासकिय अधिकृत महेश राई लगायत अतिथिहरुले दोसल्ला ओडाएर सम्मानित गरेका थिए ।

सन्दकपूर ४ को काथोग नमनाङ होसेल छोलिङ गुम्बामा आयोजित तमु ल्होसारको पर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश १ की पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्बुले नेपालका आदिवासी जनजाति समूदायको भाषा र संस्कृति संरक्षण गरि पर्यटन प्रवद्र्धनको काम गर्न प्रदेश सरकार लागेको बताइन् ।

पूर्वी नेपालको इलामको माबु क्षेत्रमा ८३ परिवार गुरुङ परिवारको बसोबास रहेको छ । यहाँ भाषा र सस्कृति संरक्षणका लागि सन्दकपूर गाउँपालिकाको सहयोगमा भाषाको अध्ययन र संस्कृति संरक्षणका लागि तालिम आयोजना हुँदै आएको सन्दकपूर ४ का वडाध्यक्ष ढाल बहादूर गुरुङले बताए । कार्यक्रममा बोल्दै सन्दकपूर गाउँपालिका अध्यक्ष ढाल बहादूर गुरुङले गुरुङ जातिको भाषा र संस्कृति सरक्षणका लागि आफुले योगदान गर्दै आएकाले आगामि दिनमा पनि आदिवासी जनजातिको भाषा र संस्कृति संरक्षणमा गाउँपालिकाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

तमु ल्होसार पर्वका अवसरमा आयोजित कार्यक्रममा सन्दकपूर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले पालिकाको कृृषि पछिको आयश्रोत पर्यटन भएकाले यहाँ बसोबास गर्ने आदिवासी जनजातिको भाषा संस्कृति पर्यटन प्रवद्र्धनको आधार बन्ने बताए । भाषा र संस्कृति संरक्षणमा गाउँपालिकाले सहयोग गर्दै लगेकाले आगामि दिनमा बजेट थप गर्न पहल गर्ने राईले बताए ।

सन्दकपूर ४ पूर्व वडाध्यक्ष वर्तमान गुरुङले माबुमा गुरुङ समुदायको जनघनत्व बढ्दै गएकाले आगमि दिनमा सास्कृति गाउँका रुपमा प्रचारप्रसार गरि पर्यटन प्रवद्र्धनका काम गर्नुपर्ने बताए । तमु ल्होसारको अवसरमा गुरुङ जातिको जातिय नृत्य प्रस्तुत गरिएको थियो ।
