फिक्कल । फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा रुपान्तरण भएको छ । स्वास्थ्य केन्द्रलाई स्तरोन्नती गर्दै नगर कार्यपालिकाले १५ शैय्याको अस्पतालको रुपमा स्विकृत दिएपछि आज उद्धघाटन गरिएको छ । अस्पतालमा ३३ जनाको दरवन्दी रहनेछ । जसमा एक मेडिकल जनरलिष्ट , दुई मेडिकल अधिकृत समेत हुनेछन् । स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घण्टा सेवा प्राप्त हुनेछ ।
अस्पतालले विरामी भर्ना गरि वार्ड सेवा समेत प्रवाह गर्नेछ । यसअघि अस्पतालले स्वास्थ्य चेकजाँच र आकस्मिक सेवा मात्र प्रवाह गर्दै आएको थियो । मेडिकल सुपरिटेन्डेन्ट सागर पन्थीको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गाकुमार बरालले स्तरोन्ती भएको अस्पतालको उद्धघाटन गरेका हुन् ।
अस्पतालको उद्धघाटन गर्दै नगर प्रमुख राईले नगरपालिकाले दरबन्दी तेरिज र संगठनात्मक संरचना समेत पारित गरिसकेको बताए । उनले हाललाई मेडिकल जनरलिष्ट नभएकाले अस्पताल व्यवस्थापन समितिले चाडै व्यवस्थापन गर्ने बताए । उनले आकस्मिक बिरामी पर्र्दा सूर्योदय र आसपासका क्षेत्रका बासिन्दाहरु झापा जानुपर्ने बाध्यता केही हदसम्म कम भएको बताए ।

उनले भौगोलिक रुपमा सूर्योदय नगरपालिका कठिन भएकाले सवै वडामा जान सक्ने एम्बुलेन्स व्यवस्थापन अघि बढेकाले केही दिनभित्र अस्पताललाई हस्तान्तरण गरिने बताए । नगर उपप्रमुख दुर्गाकुमार बरालले अस्पताल स्थापना र एम्बुलेन्स ल्याउँदाको संघर्ष सुनाउँदै अहिलेको अवस्थामा आउँदा खुशी लागेको बताए । उनले स्वास्थ्य सेवा लिनका लागि नगरका विभिन्न क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए ।
बरालले अस्पतालले थप सेवामा सुधार गर्दै जाने बताए । कार्यक्रममा जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइली, वडा नं १० का अध्यक्ष पेमा उगेन लामा, नेपाली कांग्रेसका उपसभापति रमेश प्रधान, नेकपा एमालेका सुजन नेपाल लगायतले मन्तव्य राखेका थिए । प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए ।
मेसु पन्थीले अस्पतालबाट प्रवाह हुने सेवाको बारेमा जानकारी गराएका थिए । हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरि अस्पताल संचालन भइरहेको छ । निर्माण भइरहेको नयाँ भवनलाई समयमा नै सम्पन्न गराएर चाडै नै सेवामा सहजता ल्याउने नगरपालिकाले जनाएको छ ।
कार्यक्रमको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बन्नेका लागि भुमिका खेल्ने पुर्व अध्यक्ष, स्वास्थ्यकर्मी लगायतलाई सम्मान गरिएको थियो ।