नयाँबजार । मानव अधिकार मन्च इलामले माईजोगमाई गाउँपालिकामा बिभिन्न किसिमको तालिम संचाल गरेपछि युवाहरु स्वरोजगार बनेका छन् । माईजोगमाई गाउँपालिकाका १७२ जना उद्यमीहरूलाई विभिन्न किसिमको सीप बिकास तालिम दिएपछि स्वरोजागर बनेका छन् । गाउँपालिकामा गाईपालन तालिममा ४३ जना महिला र ४६ जना पुरूष गरि ८९ जनाले तालिम लिएका छन् ।
३ जना महिला र ६ जना पुरूष गरि ९ जनाले मौरीपालन तालिममा लिएका छन् । २७ जना महिला र १५ जना पुरूष गरि ४२ जनाले बाख्रा पालन तालिम लिएका छन् । बंगुर पालनमा १३ जना महिला र ४ जना पुरूष गरि १७ जनाले तालिम लिएको र वेमौसमी तरकारी खेतीमा ७ जना महिला र ८ जना पुरूष गरि १५ जनाले सीप बिकास तालिम लिएका छन् ।
विभिन्न उद्यमशिलता सम्बन्धि कामहरू गर्दै आएको मानव अधिकार मञ्चबाट माईजोगमाई गाउँपालिकामा रहेका ९१ जना महिला र ७३ जना पुरूष गरि जम्मा १६४ जनाले लाभ लिएका छन् । तालिम लिएका युवाहरूलाई तालिम पश्चात ब्यावसाय सुरूवातकर्ताहरूलाई सामाग्री सहयोग गरेको मानव अधिकार मञ्च इलामले जनाएको छ ।
तालिम लिएपछि युवाहरुले आफु सफल उद्यामी भएको बताएका छन्। सूरुमा कुनै ब्यवसाय गर्न आफु योग्य नभएको र तालिम लिए पछि आफुहरुलाई ब्यवसाय संचालन गर्न सहज भएको माईजोगमाई गाउँपालिका वडा नं ६ प्याङका मनिसा खालिङले बताइन् । पुरानो तरिकाले ब्यवसाय गरेको र तालिम पश्चात नयाँ तरिकाले तालिम लिएको उनले बताइन् ।
आफुहरुले ब्यवसाय संचालन गर्न साथै अन्य कामको लागि समय मिलाउन समेत सफल भएको उनको भनाई छ । खालिङले मौरी पालनको तालिम लिएकी थिइन् । पुरानो घारमा मौरी पाल्दै आएकी उनी नयाँ आधुनिक घार पाएपछि उत्साहित छिन् । युवाहरुलाई ब्यवसायिक बनाउनको लागि मानव अधिकार मन्चले दिएको तालिम पश्चात स्थानीय स्तरमा स्वरोजगारको बाटो खुलेको माईजोगमाई गाउँपालिका वडा नं ३ का प्रेम तामाङले बताए ।
स्थानीय सरकारले युवाहरुको निम्ति बजेट ल्याएर युवाहरुलाई अघि बढाउने हो भने बैदेशिक रोजगारीमा जाने क्रम रोकिने उनले बताए । योतालिम पश्चात युवाहरु आफैमा स्वरोजगार भएको महसुस भएको उनी बताउँछन् । माईजोगमाई गाउँपालिकामा बिभिन्न किसिमका मौरीहरु समेत पाल्न सकिने सम्भावना रहेकाले सिप विकास सम्बन्धी तालिम पाएमा स्वरोजगार बन्न सकिने माईजोगमाई ६ का बुद्दराज राई बताउँछन् ।
मानव अधिकार मञ्चले दिएको तालिम पश्चात आफुहरुलाई सहज भएको राईले बताए । मौरीको तालिम पश्चात व्यवहारिक रुपमा सक्षम भएको उनले बताए । गाईपालन तालिम लिएपछि ब्यवसायिक योजना बनाएर अघि बढ्न सहयोग पुग्ने माईजोगमाई १ का पितम्बर पौडेल बताउँछन् । व्यवसायिक योजनापछि परम्परागत रुपमा गाई पाल्दै आएका किसानहरुलाई बजारीकरणसंगै विभिन्न रोगको बारमा समेत जानकारी पाउन सहज भएको उनले बताए ।
मन्चले आर्थिक भन्दा धेरै बौद्धिक ज्ञान दिएको उनी बताउँछन् । सुरुमा बंगुर पालनको बारेमा ज्ञान नभएकाले तालिम पश्चात व्यवसायिक ज्ञान लिन सफल भएको माईजोगमाई २ की लक्ष्मी माया गुरुङले बताउँछिन् । योजना बनाएर ब्यवसाय गर्न समस्या भएको अवस्थामा बंगुरको पाठासंगै बजारीकरणको ज्ञान समेत प्राप्त भएको उनले बताइन् ।
गाउँपालिका भरी नै तालिम लिएका युवा सफल ब्यवसाय बन्न सक्ने उनको बुझाई छ । माईजोगमाई गाउपालिकाको युवाहरूको लागि स्थानीय सरकारले थप सहयोग गरेमा स्वरोजगार बन्ने माईजोगमाई १ का डम्बर चेमजोङले बताए । गाउँघरबाट नै बाख्रा खसी बिक्री हुने हुँदा बजारको समेत अभाव नभएको उनी बताउँछन् ।