फिक्कल । महिला शिक्षक मात्र कार्यरत रहेको इलामको सूर्योदय नगरपालिका–११ को भवानी आधारभुत विद्यालय जिल्लाको उत्कृष्ट व्यवस्थापनमा सफल सामुदायिक विद्यालय बन्दै अनुदानका लागि छनौट भएको छ । प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक बर्ष २०७९/८० को बार्षिक कार्यक्रम अनुसार प्रत्येक जिल्लाबाट उत्कृष्ट विद्यालयलाई प्रोत्साहन कार्यक्रमका लागि भवानी छनौट भएको हो ।
मंसिर २६ गतेको मन्त्री स्तरको निर्णयबाट छनौट भएको विद्यालयले प्रोत्साहन स्वरुप ८ लाख ७५ हजार अनुदान प्राप्त गर्नेछ । कार्यक्रम अनुसार २० प्रतिशतसम्म प्रोत्साहन कार्यक्रममा र ८० प्रतिशत विद्यालयको प्रस्तावका आधार कार्य गर्ने गरी योजना गर्न मन्त्रालयले विद्यालयलाई पत्रचार गरेको छ । उपसचिव कृष्ण प्रसाद पोखरलले हस्ताक्ष गरेको पत्रमा कार्य सम्पादनका लागि विद्यालयलाई आवश्यक कागजपत्र माग गरिएको छ ।
अनुदान कार्यक्रम संचाल गर्न विद्यालयको प्रस्तावित कार्यक्रम भौतिक सुविधासंग सम्बन्धित भए स्थानीय तहबाट आवश्यक प्राविधिक सहयोग उपब्ध हुने प्रतिवद्धता सहितको सिफारिस पत्र, विद्यालयको थप विकासका लागि गरिने कार्यहरु उल्लेख गरि निर्धारित समयमा सम्पन्न गर्ने प्रतिवद्धता सहितको विद्यालय व्यवस्थापन समितिको निर्णय माग गरिएको छ ।
त्यसैगरी विद्यालयको भौतिक अवस्था, कक्षागत विद्यार्थी विवरण र शिक्षक विवरण समेटिएका प्रस्तावनापत्र तथा विद्यालयको विगत र वर्तमान प्रष्ट हुने गरी सुधार कार्यक्रम झल्कने प्रस्तुती माग गरिएको छ । विद्यालयले आगामी पुष १७ गते भित्रमा आवश्यक कागजपत्र उपलब्ध गराउने मन्त्रालयले निर्देशन दिएको छ ।