इलाम । ग्रामिण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति पूर्ती गर्ने उदेश्यका साथ इलाम नगरपालिकाले निःशुल्क प्राविधिक शिक्षा अध्ययनमा छात्रवृक्ति प्रदान गरेको छ । घरको आर्थिक अवस्था कमजोर भएका र सामुदायीक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई निःशुल्क अध्ययनमा सहयोग गरिएको हो । इलाम नगरपालिका २ निवासी मनिसा न्यौपानेको बाली विज्ञान अध्ययन गर्ने लक्ष्य कक्षा ५ देखिको थियो । घरको आर्थिक अवस्था कमजोर भएपनि एस इइ सकेर न्यौपानेले १८ महिने बालि विज्ञान कक्षा पढिन् ।

१८ महिने बालिविज्ञान कक्षा सकेपनि थप तीन वर्षे कोर्स पुरा गर्न परिवारको आर्थिक अवस्था पुगेन । बिचैमा कक्षा छोडेकी न्यौपानेको बाली विज्ञानको तीन वर्षे कक्षा पुरा गर्ने लक्ष्य इलाम नगरपालिकाले पुरा गरेको छ । इलाम नगरपालिका १ का बिशाल निरौलाको पनि सिभिल इञ्जिनियर पढ्ने लक्ष्य आर्थिक अभावले अलपत्र थियो । इलाम नगरपालिकाले सिभिल इञ्जिनियर निःशुल्क पढ्ने व्यवस्था मिलाएपछि निरौला अहिले खुसि छन् ।

सामुदायीक विद्यालयमा अध्ययन सकेर आर्थिक अभावले प्राविधिक शिक्षा पढ्न नपाएका विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था इलाम नगरपालिकाले शुरु गरेको हो । ग्रामीण क्षेत्रमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ इलाम नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनमा सहयोग गरेको नगर प्रमुख केदार थापाले बताए ।
इलाम नगरपालिकाले नगर क्षेत्रका २४ जना विद्यार्थीलाई अध्ययन गराउने योजना भएपनि १४ विद्यार्थी छनौट भएका छन् । निःशुल्क अध्ययन गर्न आवश्यक शुल्क नगरपालिकाले सिधैँ प्राविधिक शिक्षालयमा भुत्तानी गर्ने प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काले बताए ।
निःशुल्क अध्ययन गर्न छनौट भएकामध्ये सिभिल इञ्जिनियरमा ४ जना, वन विज्ञानमा ३ जना, पशु विज्ञान १, फार्मेसीमा ४ जना र बालिविज्ञामा २ जना रहेका छन् । विद्यार्थीले नगरपालिकाको लगानीलाई सदुपयोग गर्नुपर्ने नगर उप–प्रमुख बिष्णु दाहालले बताइन् । प्राविधिक शिक्षा निःशुल्क अध्ययनको काम इलामको साखेजुङस्थित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयमा अध्ययन गर्दै आएका छन् ।

इलाम नगरपालिकाले प्राविधिक विषय अध्ययन गर्ने १४ जना विद्यार्थीलाई निशुल्क अध्ययनको व्यवस्था पछि उनीहरुले कम्तिमा १ वर्ष नगरपालिकामा सेवा गर्नुपर्ने छ । विद्यार्थीलाई नगरले इलाम नगरपालिका १मा रहेको रत्न कुमार बहुप्राविधिक शिक्षालयमा छात्रावृत्तिको व्यवस्था गरि यो सुविधा दिएको हो । नगरका १२ वटा वडाबाट दुई जनाका दरले २४ जना विद्यार्थीको कोटा रहेतापनि १४ जना विद्यार्थी मात्र उर्तीणर् भएका छन् ।
निशुल्क अध्ययन गर्न पाउनेहरुमा इलाम नगरपालिका १बाट विशाल निरौला ,प्रविना बराईली र सुरज खत्री, वडा नम्बर २बाट मनिषा न्यौपाने,वडा नम्बर ३बाट भूमिका गुरुङ,आस्मा थापा र सुजता राई,वडा नम्बर ५बाट पुजा भण्डारी,वडा नम्बर ९बाट प्रियङका भट्टराई,१०बाट छिरिङ लाप्चा रहेका छन् । यस्तै वडा नम्बर ११बाट निकेश आचार्य,अनन्त राई र अनिल राई ,वडा नम्बर १२ बाट स्मृति लिम्बू रहेकी छिन् ।उनीहरुले तीन बर्षसम्म निशुल्क रुपमा पशु विज्ञान,फार्मेसी,वन विज्ञान,बाली विज्ञान र सिभिल इन्जिनियरिङ अध्ययन गर्न पाउनेछन् ।

सामुदायिक विद्यालयमा एसइई उतीणर् गरेर आएका विद्यार्थीलाई मात्र यो सुविधा दिइएको नगरले जनाएको छ ।तीन बर्षको अध्ययन पश्चात विद्यार्थीले एक बर्ष नगरपालिकाको मातहतमा रहेर काम गर्नुपर्ने छ ।विद्यार्थीलाई निशुल्क अध्ययनका लागि नगरले यो बर्ष १० लाख रुपैंयाँ बजेट विनियोजन गरेको थियो। विद्यार्थी तथा अभिभावकहरुलाई बधाई तथा शुभकामना दिदै नगरप्रमुख केदार थापाले सामुदायिक विद्यालय अध्ययन गरेर आएका विद्यार्थीलाई प्रोत्साहान स्वरुप प्राविधिक विषय अध्ययन गर्ने अवसर प्रदान गरेको बताए । नगरले आगामी दिनमा पनि आर्थिक अवस्था कमजोर रहेका विद्यार्थीहरुका लागि थप कार्यक्रम ल्याउने बताए ।
उपप्रमुख विष्णु दाहाल लिम्बू, इलाम नगर सामाजिक विकास समितिका सभापति दिलिप ओमनाथ प्रधान, नगर प्रवक्ता नुतनदेव दुलाल वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ, ९ का अध्यक्ष गोपाल चौहान, ८ का अध्यक्ष दलमान तामाङ शिक्षा शाखाका प्रमुख प्रेम गौतम लगायतले यो कार्यक्रमका लागि नगरले ठूलो लगानी गरेको भन्दै विद्यार्थीहरुलाई लगनशिल भएर अध्ययन गनुपर्नेमा जोड दिएका थिए ।