काठमाडौ : पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले देश चिनाउन महत्त्वपूर्ण योगदान रहने बताएका छन्।
उनले एसिया रग्बीले खेलका लागि नेपाललाई अवसर दिएपछि रग्बी खेल विकासमा गति लिने बताएका हुन्। एसिया रग्बी यु-१८ सेभेन्स च्याम्पियनसिप उद्घाटन गर्दै दाहालले आफू पुर्व खेलाडी भएको कारण सबै खेल प्रति विशेष चासो रहेको बताए।
उनले खेलकुद देश र जनतालाई जोड्ने माध्यम मात्र नभएर विश्वमा बन्धुत्व कायम गर्ने कडी समेत रहेको बताए। दाहालले राष्ट्रिय खेलकुदमा रग्बी समावेश भएकै कारण अहिले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन सकेको बताए।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराले नेपाल खेलकुद सम्भाव्यता भएको मुलुक रहेको बताए। उनले नेपालको तराई देखि हिमालसम्म भौगोलिक विविधता रहेकाले सबै प्रकारका खेलका लागि उपयुक्त रहेको धारणा राखे।
खेलकुद पुर्वाधार निर्माणमा सरकारको चासो रहेको बताउँदै उनले भक्तपुरको चाँगुनारायणमा रग्बी मैदान निर्माणको क्रममा रहेको बताए।रग्बी एसियाका अध्यक्ष कशिश अब्दुल अल थानीले नेपाल रग्बी संघलाई दिएको जिम्मेवारी पुरा गरेको बताए ।
उनले एसियाली रग्बी आयोजनाको लागि गरेको आग्रह स्विकार गर्दै प्रतियोगिता संचालन गरेकोमा धन्यवाद समेत ज्ञापन गरे ।