कुइभिर । इलाम र पाँचथरको सीमा क्षेत्र पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि इलाम नगरपालिकाको कार्यपालीका बैठक सम्पन्न भएको छ । इलाम नगर भित्रका १२ वटै वडाका वडाध्यक्षलाई पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन बारे अध्ययन अवलोकन गराउने योजनासाथ नगरपालिकाको कार्यपालीका बैठक सम्पन्न आयोजना गरिएको हो ।

इलाम नगरपालिकाको अग्लो स्थान पाटेनागीको पर्यटकीय संभावनालाई अझ प्रचारप्रसार गर्ने र स्थानीय ग्रामीण घरहरुमा होमस्टे संचालन गरि आयआर्जन गर्ने योजनाका साथ कार्यपालिका बैठक आयोजना गरिएको नगर प्रमुख केदार थापाले बताए ।

सूर्योदयको पहिलो झुल्को देखिने पाटेनागी डाँडा इलाम नगरपालि ३, पुवामझुवा र पाँचथरको सिमानामा पर्दछ । पछिल्लो समय पाटेनागी डाँडा पर्यटकीय गन्तव्यको रोजाईँमा पर्ने एक पर्यटकीयस्थल हो ।

शान्त वातावरणले पाटेनागी डाँडा पुगेका मानिसहरु प्रफुलित हुने गरेका छन् । यहाँबाट सूर्योदय, सूर्यास्तको दृश्यावलोकन, डाँडाको टुप्पोमा रहेको पोखरी, विभिन्न हिमालको दृश्यहरुको अबलोकन, विभिन्न जातका गुराँसका फुलहरु, ठूलो पाथीभरा – सानो पाथीभराको दृश्य र यहाँ बाट इलाम र पाँचथरका धेरै जिल्ला हरु देखिनुको साथै भारत र चीनका हिमाली दृश्यमा रमाउन सकिने भएकाले इलाम नगरपालिकाले पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम शुरु गरेको इलाम नगर उप–प्रमुख बिष्णु दाहालले बताइन् ।

प्रदेश १ इलाम नगरपालिका–३ पुवामझुवा र पाँचथरको सिमानामा पाटेनागी डाँडा पर्दछ । समुद्री सतहबाट ९ हजार ८ सय ५० फिट उचाइमा रहेको पाटेनागी डाँडा झुल्के घाम हेर्ने उत्कृष्ट स्थानमा रहेकाले पर्यटकीय पूर्वाधार निर्माणको काम संघीय सरकारको पर्यटन मन्त्रालयबाट हुँदै आएको छ ।

अहिले सुन्दर पदमार्ग र पर्यटक आराम गर्ने गोलघरहरु निर्माण गरिएको छ । जसका कारण पर्यटक आवागमन पनि वृद्धि भएको छ । कार्यपालिका बैठकले पर्यटन प्रवद्र्धनका काम थप गतिविधि गर्ने निर्णय गरेको छ । बैठकले भु–उपयोग निति र शिक्षा सम्बन्धि विभिन्न विषयमा समेत निर्णय गरेको थियो ।
कार्यपालीका बैठकमा इलाम नगरपालिका ५ का वडाध्यक्ष नुतन दुलाल, ३ वडाध्यक्ष हेम बहादूर सुनुवार, ५ का वडाध्यक्ष काजी श्रेष्ठ, ७ का नरेश श्रेष्ठ, ६ का वडाध्यक्ष दुर्गामदन श्रेष्ठ, ९ का वडाध्यक्ष गोपाल चौहानले पाटेनागीको पर्यटकीय सम्भावना अधिक रहेकाले लगानी गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश कुमार खड्काले कार्यपालिका बैठकमा प्रस्तावहरु पेश गरेका थिए ।
