माई । प्रथम माई गोल्डकपको उपाधिको लागि शनिश्चरे एफसी र खुदुनाबारी एफसी भिड्ने भएका छन् । शनिबार सम्पन्न दोश्रो सेमीफाइनलमा घरेलु टोली चियाबारी युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै शनिश्चरेले फाइनलमा स्थान बनाएको हो । यसअघि पहिलो सेमीफाइनलमा युनाइटेड थ्रीस्टार इलामलाई हराउँदै खुदुनाबारीले फाइनलमा स्थान बनाएको थियो ।
शनिश्चरेको जितमा निमा तामाङ र पुर्व राष्ट्रिय खेलाडी देवेन्द्र तामाङले समान १÷१ गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच देवेन्द्र घोषित भए । कार्तिक २८ गते फाइनल खेल हुनेछ । सितली एफसी र चियाबारी एफसीको संयुक्त आयोजनामा गत कार्तिक १९ गतेबाट जारी प्रतियोगितामा इलाम र झापाका १२ टोलीको सहभागिता रहेको थियो ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु ३० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । व्यक्तिगत विधामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्ड, मिडफिल्ड, सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कार प्रदान गरिने आयोजक समितिका विशाल खड्काले जानकारी दिए ।