माई । प्रथम माई गोल्डकपमा लक्ष्मीपुर फुटबल क्लबले बिजयी सुरुवात गरेको छ । माई नगरपालिका–२ सितली खेलमैदानमा आयोजित प्रतियोगितामा घरेलु टोली सितली फुटबल क्लबमाथि ५–३ गोल अन्तरको जित निकाल्दै लक्ष्मीपुर क्वाटरफाइनल प्रवेश गरेको छ । लक्ष्मीपुरको जितमा बाबु धिमालले ह्रयाट्रिक गरे ।
सुजन विश्वकर्मा र दिनेश खड्काले समान १/१ गोल गरे । सितलीका लािग निकेश श्रेष्ठले २ र अनुप श्रेष्ठले १ गोल गरे । खेलको म्यान अफ दि म्याच ह्रयाट्रिककर्ता धिमाल घोषित भए । आइतबार दोश्रो प्रि–क्वाटरफाइनल खेलमा नवज्योती युथ क्लब जयपुर झापा र सोत्तिम फुटबल क्लबबिच पहिलो खेल हुनेछ ।

त्यसैगरी दोश्रो खेलमा भागुना फुटबल क्लब महमाई र युनाइटेड थ्रीस्टार इलाम बिच प्रतिस्पर्धा हुनेछ । सितली फुटबल क्लब र चियाबारी युथ क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत रुपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्ड र उत्कृष्ट मिडफिल्डरलाई समेत नगद र ट्रफि प्रदान गरिनेछ ।
आगामी कार्तिक २८ गतेसम्म संचालन हुने प्रतियोगितामा इलाम र झापाका १२ टिमको सहभागिता रहेको छ । आयोजक समितिका संयोजक मनिन्द्र राईको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा माई नगर प्रमुख खम्बसिं लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विशेष अतिथि जिल्ला फुटबल संघ इलामका अध्यक्ष विक्रम श्रेष्ठले मन्तव्य राखेका थिए ।
कार्यक्रममा उपसंयोजक निशान श्रेष्ठले स्वागत गरेको कार्यक्रम आयोजक समितिका सदस्य विशाल खड्काले संचालन गरेका थिए ।