कन्याम : इलामको कन्याममा स्काइ वाकका लागि टावर निर्माण गरिएको छ । नयाँ नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलोपटक स्काइ वाक सुरू हुन लागेको हो । यो स्काइ टावर ३ स्टेपमा बनेको छ । दुई वटा स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुने साइट म्यानेजर अर्जुन चौधरीले जानकारी दिए ।
टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरि चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कंचनजंघा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त दुवै देख्न सकिनेछ । टावरसँगै स्काइ रेस्टुरेन्ट पनि सञ्चालन हुनेछ । दोस्रो चरणमा स्विङ पनि तयार हुने रोकायले बताए । डेढ वर्षमा निर्माण सकेर कार्तिक १८ गतेबाट पर्यटकका लागि स्काइ टावर खुला गर्न लागिएको छ ।

स्काइ वाक गर्ने पर्यटकले ५०० रुपैयाँको टिकट लिनुपर्ने छ, साथै भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, साँस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । टावरमा एकपटक २२ जनासम्म चढ्न सक्ने क्षमता भए पनि ८ जनासम्म चढाइनेछ । स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्वीच कभर, चढेका व्यक्तिहरुको संख्या रेकर्ड राखिने र सुरक्षा गार्डहरु पनि हुनेछन् ।

यो टावर १२ जना महिलाहरुको ४ करोड लगानीमा बनेको हो । वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काइ वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको परियोजनाका प्रबन्ध निर्देशक सन्जिब रोकायाले जानकारी दिए । विशेष गरी स्थानीय महिलालाई रोजगारी उपलब्ध गराउने र पर्यटन क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यले पनि यो परियोजना विकास गरिएको हो ।
सेफ स्टिल प्रालि, जाल्पादेवि इन्फ्राटेक, वाइटह्याट कन्स्ट्रक्सन र डिजाइन रिपलले स्काइ टावर बनाउनका लागि प्राविधिक सहयोग गरेको हो । स्काइ वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन् र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको निर्देशक रोकायाले जानकारी दिए ।