सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका ५ मा जारी कागे फुटबल प्रतियोगिताको आजबाट क्वाटरफाइनलका खेलहरु सुरु हुँदैछन् । बुधबारको खेलमा सन्दकपुर– ३ र इलाम नगरपालिका-६ बिजयी भएसंगै क्वाटरफाइलन भिड्ने टिम पक्का भएको हो ।
प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा ढापपोखरी फुटबल क्लब र सन्दकपुर एफसी बिच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी दोश्रो क्वाटरफाइलनमा सन्दकपुर-१ र जमुना एफसी बिच प्रतिस्पर्धा हुनेछ ।
प्रि क्वाटरफाइनलको अन्तिम दिनको पहिलो खेलमा सितली फुटबल क्लबलाई ४-० ले हराउँदै सन्दकपुर ३ क्वाटरफाइनल प्रवेश गरेको छ । सन्दकपुरको जितमा खेलको ७ औ मिनेटमा प्रकाश राईले अग्रता दिलाए । १७ औ मिनेटमा शुक्रराज राईले अग्रता दोब्बर बनाए ।
२० औ मिनेटमा शेखर राईले अग्रता ३-० बनाए । दोश्रो हाफको इन्जुरी समयमा शुक्रराजले व्यक्तिगत दोश्रो गोल गरेपछि सन्दकपुरले खेल ४-० ले जित्दै क्वाटरफाइनल यात्रा सहज बनाएको थियो ।
त्यसैगरी दोश्रो खेलमा सन्दकपुर २ लाई सडनडेथमा हराउँदै इलाम ६ ले समेत क्वाटरफाइनलमा स्थान बनाउन सफल रहयो । निर्धारित समयमा दुवै टोलीले १-१ गोल गरेका थिए ।
दोश्रो हाफको अन्तिम मिनेटमा गोलरक्षक अनुप तामाङको गल्तीको फाइदा उठाउँदै सन्तोष तामाङले इलामलाई अग्रता दिलाएका थिए । इन्जुरी समयमा कर्नर प्रहारलाई हेडर मार्फत जाली चुमाउँदै अनुपले खेल बराबरीमा ल्याए ।
टाइब्रेकरमा समेत दुवै टोलीबाट ४/४ गोल भएपछि सडनडेथबाट निर्णायक जित निकाल्दै इलामले क्वाटरफाइनल स्थान सुरक्षित गरेको हो । आगामी कार्तिक ६ गतेसम्म संचालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।