सन्दकपुर : इलामको सन्दकपुर गाउँपालिका ५ मा जारी कागे फुटबल प्रतियोगितामा युनाइटेड फुटबल संघ इलाम र सन्दकपुर खेलकुद संघ माबुले बिजयी सुरुवात गरेका छन् । इलामले लालीगुरास फुटबल क्लब र माबुले इलामा नगरपालिका १० गोदक लाई हराएको हो ।
तेश्रो दिनको पहिलो खेलमा लालीगुराँसलाई ५ ० अन्तरले हराउँदै इलामले क्वाटरफाइलनमा प्रवेश गरेको हो । इलामको जितमा पिकेश लोक्ताम, दावा छिरिङ शेर्पा, साङ्गे शेर्पा, अनिश थापा र श्रीयस राईले गोल गरे ।
पहिलो हाफको १६ औ मिनेटमा पिकेशले थ्रोइन मार्फत गोल गरे । २२ औ मिनेटमा दावाले अग्रता दोब्बर बनाए । दोश्रो हाफको चौथो मिनेटमा साङ्गेले टिमका लागि तेश्रो गोल गरे । ९ औ मिनेटमा अनिशले चौथो गोल गरे ।
११ औ मिनेटमा श्रीयसले गोल गरेपछि खेलमा ५ ० को सहज जितका साथ इलाम क्वाटरफाइनल प्रवेश गर्न सफल रहयो । दोश्रो खेलमा अभय धिमालको ह्रयाट्रिक गरेपछि माबुले गोदकलाई ३ ० ले हराउन सफल रहयो ।
अभयले पहिलो हाफको ८ औ, १६ औ र दोश्रो हाफको पहिलो मिनेटमा गोल गरे । आगामी कार्तिक ६ गतेसम्म संचालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको बिजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया प्राप्त गर्नेछ ।