कतार । “जिउँदाको जन्ती मर्दाको मलामी, हामी इलामेली” भन्ने मुल नारालाई आत्मसात गर्दै वैदेशिक रोजगारीको सिलसिलामा कतारमा कार्यरत सम्पुर्ण इलामेलीहरुको साझा संस्थाको रुपमा सन् २०१५ मा स्थापित इलाम सेवा समाज, दोहा–कतार हो । संस्थाले यस वर्ष २०७९ को वडा दशैं, शुभ दिपावली, नेपाल संवत् ११४३ (भिन्तुना), बलिहाङ तङनाम तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान सहित इलामेली भेटघाट कार्यक्रम भव्यरुपमा सम्पन्न गरेको छ ।

संस्थाका प्रथम–उपाध्यक्ष तथा शुभकामना आदान–प्रदान कार्यक्रमका संयोजक तोरण बस्नेतको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख आथित्यता संस्थाका अध्यक्ष खड्क फागो, प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष धन बहादुर विश्वकर्मा, विशेष उपस्थिती संस्थाकी संस्थापक प्रथम–उपाध्यक्ष रेनुका कार्की रहेकी थिइन् । यस्तै संस्थापक सल्लाहकार तिलविक्रम थेवे, भूतपूर्व प्रथम–उपाध्यक्ष गोपाल न्यौपाने तथा कार्यसमिति सदस्य रविना मगर लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा इलाम तथा अन्य जिल्लाहरुबाट ७० जना भन्दा बढी नेपाली श्रमीकको उपस्थिती रहेको थियो ।

कतारमा कार्यरत इलामेली कलाकारहरुको नृत्य, गायनको प्रस्तुतीहरु रहेको कार्यक्रममा इलामका वरिष्ठ गीतारवादक एवम् संगीतकार जोएल परियारको प्रस्तुतीले थप मनोरञ्जन प्रदान गरेको थियो । संस्थाको तर्फबाट कार्यक्रममा उपस्थित सम्पुर्ण महिला दिदीबैनीहरुलाई तिहार विशेष मायाको चिनो प्रदान गरिएको थियो । दोहा–कतारको नज्मामा रहेको द गोर्खा नेपाली रेस्टुरेण्टमा कार्यक्रम संचालन आयोजना भएको थियो ।

चाडपर्व विशेष परिकार, सामुहिक नृत्य, पारिवारिक भेटघाटले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । संस्थाका सह–कोषाध्यक्ष सुवास निरौलाले कार्यक्रमको उद्देश्य सहित उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्यले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका महा–सचिव ज्ञानेन्द्र रसाईली र सचिव मन कुमार योङ्हाङले संयुक्तरुपमा गरेका थिए ।