इलाम । प्रदेश नम्बर एकको पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारको जिर्ण सडक मर्मत हुन थालेको छ । विगत २ वर्षदेखि सडक मर्मतको काम अलपत्र अवस्थामा थियो । मेची राजमार्गमा पर्ने फिक्कल बजार क्षेत्रको सडक मर्मतको काम अलपत्र हुँदा देशभरबाट फिक्कल पुग्ने पर्यटक र यात्रु हिउँदमा धुलो र वर्षातमा हिलोको समस्या झेल्नु परिरहेको थियो ।

सडक मर्मत नभइ अलपत्र भएको समाचार नेपाल टेलिभिजन लगायत विभिन्न समाचार माध्यममा प्रशारण भएपछि अहिले सडक मर्मतको काम शुरु भएको हो । पर्यटकीय नगर सूर्योदय नगरपालिकाको केन्द्र हो फिक्कल बजार । पर्यटकीय नगरपालिका घोषणा भएको यहाँको मुख्य मार्ग चै अहिले वर्षातमा हिलो र हिउँदमा धुलो हुने गरेको थियो । यहाँ इलाम भ्रमणका लागि दैनिक सयौँ पर्यटक बास बस्ने र कोसेली खरिद गर्ने ठाउँ हो । सडक मर्मत नहुँदा भारतको पर्यटकीय सहर दार्जिलिङ जान चाहने नेपालीहरुले पनि यो वर्ष फिक्कलको हिलो सडक पार गर्नु परेको थियो ।

तर पर्यटकीय नगरि रहेको फिक्कल बजार बिचमा रहेको मेची राजमार्ग मर्मत नहुँदाको समस्या स्थानीय व्यापारीहरुले पनि समस्या झेल्दै आएका थिए । सडक मर्मत भएपछि पर्यटकीय नगरपालिकाको प्रशासनिक भवनको अगाडी रहेको सडकमा हिउँदमा धुलो र वर्षातको हिलो पर्यटक र यात्रुले देख्दा राम्रो सन्देश पनि गएको थिएन । राजमार्ग क्षेत्रमा सयौँ खाल्टाखुल्टि ५ वर्षदेखिका हुन् । राजमार्गका खाल्टाखुल्टि सवारीसाधनका लागि धराप जस्तै भएको यातायात व्यवसायीको गुनासो थियो ।

सडक विस्तारका क्रममा सडक डिभिजन इलामले गरेको कालोपत्रे २ महिना पनि टिकेको थिएन । उक्किएको सडक मर्मतका लागि सडक डिभिजनले २ वर्ष अघि पुनः ठेक्का लगाएपनि ठेकदारले अनेक बाहानामा काम गरेका थिएनन् । देशभरबाट हजारौँ पर्यटकहरुको आवतजावत हुने सडक जिर्ण हुँदा हरेक यात्रु र यातायात व्यवसायीले समस्या झेल्नु परेको थियो ।

मेची राजमार्ग पर्ने सडक २ वर्ष अघि सडक डिभिजन इलामले चौडाको काम गरेको थियो । सडक चौडा गरेपनि मर्मतको काम नहुँदा राजमार्ग जिर्ण बन्दै गएको थियो । मर्मतको काम चाँडो गर्नका लागि निर्माण व्यवसायीलाई पत्राचार गरिएको सडक डिभिजनका प्रमुख बिदुर पोख्रेलले जानकारी दिएका थिए ।

जथाभावि सावारीसाधन धुने, सडकको ढल व्यवस्थापन राम्रो नहुँदा राजमार्गमा क्षति पुगेको छ । फिक्कल खण्डको सडक मर्मतका लागि सडक डिभजिन कार्यालय इलामले सडक पुनःस्थापना मार्फत मर्मतको ठेक्का संझौता गरेको थियो ।
