जस्बीरे। खेलकुदका माध्यमबाट इलामको इलाम नगरपालिका २ र ४ सीमा क्षेत्र जस्बिरेमा अशोज ३० गतेबाट हुने जस्बिरे गोल्डकपको तयारी पुरा भएको छ । ३० वर्ष अघि व्यवसायीक कृषि उपज उत्पादन शुरु भएको इलामको उत्तरी जस्बिरे क्षेत्र कालोपत्रे सडकले जोडिएपछि पर्यटनका गतिविधि बढाउन जस्बिरे गोल्डकपको आयोजनाको तयारी पुरा भएको हो । इलाम नगरपालिका र सन्दकपूर गाउँपालीकाको सीमा क्षेत्र जस्बिरेका युवाले खेलकुद र व्यवसायीक कृषि खेतीलाई पर्यटन तान्ने आधार बनाइ प्रवद्र्धनका काम शुरु गर्ने योजना रहेको जस्बिरे गोल्डपक २०७९ का बिजय कुमार सुब्बा ‘अशोक’ले बताए ।

सदरमुकाम इलाम बजारबाट ८ किलोमिटर पार गरेपछि पुगिन्छ जस्बिरे । जस्बीरे गाउँमा २०४२ सालमा आलुसम्बन्धी परियोजना संचालन भएपछि व्यवसायीक कृषि उपजको खेती हुन थाल्यो । अहिले जस्बिरेका डाँडाहरु हरियो चिया बगानले भरिएका छन् । आकर्षक चिया बगान र सुन्दर डाँडाहरु रहेको जस्बिरे क्षेत्र जोड्ने सडक कच्चि हुँदा खासै चर्चा थिएन । तर इलाम बजारबाट माइपोखरी सडकको ट्रयाक खनिएको लामो समयपछि कालोपेत्रे सडकले जोडिएको जस्बिरेमा पर्यटकीय गतिविधि बढेका छन् । पर्यटन प्रवद्र्धनका गर्न अहिले स्थानीय युवाले खेल क्षेत्रलाई माध्यम बनाउँदै आएका छन् ।

युवाहरुको हेल्लो जस्बिरे फुटबल क्लबको आयोजनामा विगत ११ वर्षदेखि राष्ट्रिय खेलाडी सहभागि गराएर फुटबल प्रतियोगिता हुँदै आएको इलाम नगरपालिका ४ का वडासदस्य बिष्णु सुब्बाले बताए । २०४२ सालमा जस्बिरे आएका कवि तथा पत्रकार भैरव रिसालले यहाँका किसानलाई चिया खेती रोपणबारे सिकाएका थिए ।
त्यही चिया अहिले गुणस्तरीय तयारी चियाका रूपमा विश्वका नामी देश र सहरसम्म पुग्न थालेको छ । जसले गर्दा चियाको माध्यमबाट पनि पर्यटन प्रवद्र्धनका काम पनि हुँदै आएको स्थानीय झमेस मुखिाले बताए ।

जस्बिरेमा व्यवसायीक चिया खेतीका लागि चिया बिस्तार योजना पनि संचालनमा रहेको छ । जसले गर्दा कृषि उपज र खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने योजनाका साथ अहिले स्थानीय घरहरुमा होमस्टे पनि संचालित छन् । जस्बिरे हुँदै विश्वको रामसार सुचिमा सुचिकृत माइपोखरी,पर्यटकीय क्षेत्र सन्दकपूरको यात्रा तय गर्ने भएकाले पर्यटकहरु जस्बिरेको सुन्दर डाँडामा रमाउन थालेका छन् ।