इलाम : कुर्सीमा पुगेपछि कुर्सीबाहेक सबै कुरा बिसर्ने प्रवृति नेपाली राजनीतिकर्मीमा हाबी छ । राजनीतिलाई नै व्यापार ठान्ने घातक प्रवृति उत्तिकै मौलाउँदो अवस्थामा देखिन्छ । सुन्दा अचम्म लाग्न सक्छ तर कतिपय यस्ता पनि जनप्रतिनिधि छन्, जसले जीविकोपार्जनको पाटो राजनीति होइन, फरक क्षेत्रलाई बनाएका छन् । जसमध्ये एक हुन् पुर्बी नेपालको इलाम जिल्लाको इलाम नगरपालिकाका मेयर केदार थापा ।
इलाम नगरपालिका–६ मा घर रहेका मेयर केदार थापाले घरसँगै रहेको जग्गामा एकसाथ व्यावसायिक फलफुल खेती , तरकारी खेती, माछा पालन सँगै अलैची खेती गर्दै आएका छन् । जसबाट मनग्य आम्दानी समेत गर्दै आएको उनले बताए । मेयर थापाले भने, ‘राजनीति व्यापार होइन, सेवा हो । यसमा आश्रित हुने प्रवृत्ति मुलुकको लागि दूर्भाग्य हो । मेरो पारिवारिक जीविकोपार्जनको बाटो नितान्त कृषि पेशा नै हो ।’
संयुक्त परिवारमा बस्दै आएका उनी नगरपालिका जानु अघि र नगरपालिका बाट घर फर्केलगत्तै घरपरिवारसँग कृषि कर्ममा खटिन्छन् । उत्पादित कृषि उपज परिवारजनले नजिकै रहेको सदरमुकाम इलाम बजारसम्म पु¥याउँने गरेका छन् । परिवारलाई चाहिने फलफुल, तरकारी आफ्नै बारीमा उत्पादन गरिरहनुभएको छ । मेयर थापाले बाझो जमिनमा समय अनुकुल कृषि खेती गर्नुपरेको बताउँछन् ।
२०२१ सालमा बुवा तीलकबहादुर थापा र आमा कृष्णकुमारी थापाको पुत्र रत्नका रुपमा इलाम नगरपालिकामा जन्मिएका थापाको बाल्यकाल सामान्य थियो । बाल्यकालदेखि नै नेपाली कांग्रेसमा आस्था राखेका थापाले नेपाली कांग्रेस बाट २०७९ सालको स्थानीय तह निर्वाचनमा इलाम नगरपालिकाको मेयरमा भारी मतले विजय बनेका हुन् ।
कार्यालय समयका साथै अन्य समयमा पनि जनताकै सेवामा समर्पित उनी जनताको सेवाबाट बाँकी रहेको समयलाई सदुपयोग गरी कृषि कर्ममा अगाडी बढेपछि पौरखी व्यक्तित्वको रुपमा पनि आफ्नो छवि बनाएका छन् । उनले थापा अर्गानिक कृषि फर्म नै दर्ता गरेर ब्यबसायक रुपमा खेती गरिरहेका छन् भने केहीलाई उनले फर्ममा रोजगारी समेत दिएका छन् ।
समय धेरै मूल्यवान रहेको बताउने उनी मूल्यवान समयलाई कार्यालयबाट फर्केपछि केही समयमा बेमौसमी तरकारी खेती, एभोकाडो ,कागती र सुन्तला बगानको स्यारसुसारमा लाग्छन् । ५० रोपनी भन्दा बढिमा उहाँले २ सय बोट एभोकाडो,उतिकै संख्यामा कागती र सुन्तला लगाएका छन् ।
यति मात्र होइन उनको खेत बारीका अहिले लहलह झुलेको धानको बाला र लटरम्म फलेका अम्बा र अमला देख्न सकिन्छ । माछा पालनलाई उतिकै प्राथमिक्ता दिएका थापाले केही जग्गामा अलैची पनि लगाएका छन् । उनको खेतीमा परिवारको सदस्यहरूको राम्रो साथ र सक्रियता रहेको छ । अहिले उनको बारीमा साग, करेला, बोडी, फर्सी लगायत तरकारी फलेका छन् ।
माछापोखरीमा माछा खेलिरहेका छन् । व्यावसायिक कृषि कर्मले उनको परिवारका सदस्यहरूलाई घरमै स्वरोजगार भएका छन् । जुनकारणले निर्वाहमुखी कृषि पेशालाई व्यावसायिक बनाउँदै गएका बताउछन् । इलामका अधिकांश स्थानीय कृषि पेशामा नै आवद्ध छन् भने इलाम नगरपालिकाले समेत कृषिलाई मुख्य प्राथमिक्तामा राखेको छ । यसैले पनि कतिपयले मेयर थापाबाट नै सिको गर्दै व्यावसायिक कृषि पेशालाई अगाडि बढाएका छन् । नयाँ बुलन्द