Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

‘शशिकला स्मृति पुरस्कार’बाट पत्रकार रीता राराहाङ पुरस्कृत (फोटो फिचर)

‘शशिकला स्मृति पुरस्कार’बाट पत्रकार रीता राराहाङ पुरस्कृत (फोटो फिचर)

  • लोकल सन्देश
  • सोमबार, असोज ३ २०७९


‘शशिकला स्मृति पुरस्कार’बाट पत्रकार रीता राराहाङ पुरस्कृत (फोटो फिचर)

इलाम । गणतन्त्र प्राप्ति र संविधानसभाबाट संविधान निर्माणका लागि गरिएको जनयुद्धकी युद्ध पत्रकार शसिकला आर्चायको स्मृतिमा निर्माण गरिएको शशिकला स्मृति पुरस्कार’ बाट मातृभाषी पत्रकार रीता राराहाङ पुरस्कृत भएकी छन् । शहिद स्मृति प्रतिष्ठान इलामले स्थापना गरेको पहिलो पुरस्कार इलामकी राराहाङले पाएकी हुन् ।
संविधान दिवसको अवसरमा इलाम सदरमुकाममा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव विवेक गौतमले नगद सात हजार रुपैयाँको चेक, दोसल्ला र सम्मानपत्र प्रदान गरेर राराहाङलाई पुरस्कृत गरे ।

विगत डेढ दशकदेखि मातृभाषी पत्रकारितामा क्रियाशील राराहाङ इण्डिजिनियस टेलिभिजनमा आवद्ध छन् । उनले यसअघि नेपालवाणी एफएम, फिक्कल एफएम, इलाम एफएम, गोर्खा एफएम, रेडियो कान्तिपुरलगायत सञ्चारमाध्यममा भातृभाषाको कार्यक्रम सञ्चालनको अनुभव लिइसकेकी छन् ।

मातृभाषाको अनुसन्धानकर्ता समेत रहेकी राराहाङ इलामको सन्दकपुर गाउँपालिका– २ निवासी हुन् । तत्कालिन क्रान्तिकारी पत्रकार संघमा आवद्ध शर्मालाई माओवादी सशस्त्र संघर्षको बेला २०६० असोज २६ मा तत्कालिन शाही सेनाले सन्दकपुर २ माईमझुवामा गोली प्रहार गरी हत्या गरेको थियो।

शर्मा तत्कालिन देउमाई गर्जन पत्रिकाका सम्पादकका सार्थ नेकपा माओवादी की जिल्ला सदस्य र अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय सदस्य थिइन् । उनकै नामबाट शहिद स्मृति प्रतिष्ठानले पुरस्कार स्थापना गरेको हो ।

माओवादी सशस्त्र संघर्षको क्रममा इलाममा माओवादीतर्फ ८६ जनाको हत्या भएको थियो ।प्रत्येक वर्ष संविधान दिवसको दिन एकजना पत्रकार र लेखकलाई पुरस्कृत गरिने शहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले बताइन् ।

‘देश र जनताको निम्ति ज्यानको आहुती दिन शहिदलाई सम्झन र ती शहिदले परिवर्तनका लागि पुर्याएको योगदानलाई जनतामाझ पुर्याउन सहयोग गर्ने उदेश्यले पुरस्कार स्थापना गरिएको हो’, अध्यक्ष घिमिरेले भनिन्, ‘हामीले पुरस्कारका लागि अक्षयकोष स्थापना गरेका छौँ, अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष एकजना पत्रकार र लेखकलाई पुरस्कृत गर्नेछौँ ।’

कार्यक्रममा पुरस्कृत राराहाङले जुनसुकै काममा पनि निरन्तरताले सफलता पाउने बताइन् । ‘आफूले निस्वार्थ भावनाका साथ मातृभाषी पत्रकारितालाई निरन्तरता दिएकै कारण सफलता प्राप्त गर्दै गएको र पुरस्कृत हुन पाएको भएकी छु’, राराहाङले भनिन् ।

कार्यक्रममा शहिदहरुको बलिदानबाट प्राप्त उपलब्धिको रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधानलाई कार्यान्वयनमा जोड दिएका थिए । संविधानमा भएको केही कमीकमजोरीका कारण सबैले अपनत्व ग्रहण गर्न नसकेको बताउँदै वक्ताहरुले संशोधनको माध्यमबाट सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिए ।

विभिन्न आन्दालेनबाट प्राप्त उपलब्धीलाई रक्षा गर्दै थप उपलब्धीका लागि संघर्ष जारी राख्नुपर्नेमा वक्ताहरुको जोड थियो । हालको व्यवस्थाको विकल्प नरहेको बताउँदै यही व्यवस्थालाई टेकेर अवस्था परिवर्तनमा लाग्नुपर्नेमा वक्ताहरुको जोड थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का महासचिव गौतमसहित नेकपा माओवादी केन्द्र प्रदेश सदस्य राम राई, जिल्ला अध्यक्ष विजय खम्बू, प्रेस सेन्टरका केन्द्रीय सदस्य अशोक प्रधान, नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज का अध्यक्ष तथा नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष राम योङहाङ, नेपाल प्रेस युनियनकी अध्यक्ष सविता पाण्डे लगायतले जनताको उज्वल भविश्यका लागि गरिएको राजनीतिक आन्दोलनमा ज्यान गुमाएका सहिदको सपना साकार पार्न सबै एक भएर लाग्नुपर्ने बताए ।

शहिद स्मृति प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा शहिद शशिकला शर्माको जीवनीका बारेमा उपाध्यक्ष उर्मीला तामाङ चन्दा०र कोषाध्यक्ष प्रकाश परियारले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन सचिव जीवन शर्माले गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार