इलाम । नवौ राष्ट्रिय खेलकुदको प्रदेश छनौट अन्र्तगत महिला फुटबलमा इलामले सुनसरीसंग प्रतिस्पर्धा गर्दैछ । इटहरी रंगशालामा हुने छनौट खेलमा भाद्र ३० गते इलामले सुनसरीलाई प्रतिद्धन्द्धी पाएको हो । प्रतियोगितामा सहभागिता जनाउनका लागि अनिता राईको कप्तानीमा इलामको टोली आज इटहरी पुगेको जिल्ला फुटबल संघका अध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए ।
प्रदेश १ का १४ वटा जिल्ला सहभागि प्रतियोगिताको उद्धघाटन खेलमा ताप्लेजुङले तेह्रथुमसंग प्रतिस्पर्धा गर्नेछ । २९ गते नै दोश्रो खेलमा संखुवासभा र ओखलढुङ्गा भिड्दैछन् । भदौ ३० गते प्रि–क्वाटरफाइनलमा धनकुटा र पाँचथर, भोजपुर र मोरङ, सोलुखुम्बु र झापा भिड्ने तय भएको छ । भदौ ३१ गते क्वाटरफाइलन चरणको खेल हुनेछ । असोज १ गते सेमीफाइनल र असोज २ गते फाइनल खेल हुनेछ ।
त्यसैगरी पुरुष तर्फको छनौट खेल असोज ४ गतेबाट विराटनगर स्थित सहिद रंगशालामा हुनेछ । इलामले मनिष थापाको कप्तानीमा प्रदेश छनौटका लागि १६ सदस्यीय टोली तयार पारेको जिल्ला फुटबल संघका निर्वतमान उपाध्यक्ष मणी गुरुङले जानकारी दिए ।