इलाम : नेपाली राष्ट्रिय महिला टोलीकी स्ट्राइकर सावित्रा भण्डारी र डिफेन्डर मन्जलीकुमारी योन्जनलाई डेंगु संक्रमण भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता सुरेश शाहले सावित्रा र मन्जलीमा डेंगुको संक्रमण देखिएको पुष्टि गरे। २ खेलाडीसँगै गोलरक्षक प्रशिक्षक सुरजकुमार लामामा समेत संक्रमण पुष्टि भएको छ।
संक्रमण देखिएसँगै दुवै खेलाडी आज श्रीलंकाविरुद्धको खेलमा नेपाली टोलीमा हुने छैनन्। उनीहरुलाई मेडिसिटी अस्पतालमा राखिएको छ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कुमार थापाका अनुसार खेलाडीहरु अहिले आइसोलेशनमा छन्।
‘सावित्रालाई अहिले आइसोलेशनमा राखेका छौं। डेंगु टेस्ट पोजेटिभ आएपछि उनलाई छुट्टै राखिएको हो। सामान्य ज्वरो आएको छ‚’ थापाले भने‚ ‘श्रीलंकाविरुद्ध उनी नेपाली टोलीमा हुने छैनन्। त्यसपछि पनि भन्न सक्ने अवस्था छैन।’