Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

नेम्वाङको कतार भ्रमणपछि मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा

नेम्वाङको कतार भ्रमणपछि मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २६ २०७९


नेम्वाङको कतार भ्रमणपछि मुख्य प्रशिक्षक अलमुताइरीको राजीनामा

इलाम । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिएका छन् । नेपालको मुख्य प्रशिक्षक सम्हालेको ५ सय २५ दिनपछि अलमुताइरीले राजीनामा दिएका हुन् । आइतबार सामाजिक संजाल फेसबुकबाट अलमुताइरीले राजीनामाको घोषणा गरेका छन् ।

‘नेपाली फुटबलको सेवाको ५ सय २५ दिनपछि नेपाली राष्ट्रिय टोलीको प्रशिक्षक पदमा आफ्नो कार्यकाल समाप्त भएको घोषणा गर्दछु,’ अलमुताइरीले लेखेका छन्, ’खुशी, माया, दुःख र पीडाको यो यात्रामा मलाई साथ दिनुहुने सबैलाई धन्यवाद ।’ एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङको कतार भ्रमणपछि अल्मुताइरीको राजिनामा आएको हो ।

https://www.facebook.com/abdullah.almutairi1981/posts/pfbid026qLydeqJ1nmbK7FSxsXqwbv4UevZood4Du6GYVakkFsWYY9646hGqT4Pg5cUJJHEl

शनिबार नेम्वाङले कतार भ्रमण गर्दै कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग भेटवार्ता गरेका थिए । पछिल्लो समय नेपाली फुटबलमा जारी सिनियर खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीच विवाद भइरहदा एन्फा अध्यक्षको कतार भ्रमणलाई महत्वपूर्ण रुपमा हेरिएको थियो । एन्फाको नयाँ कार्यसमिति चयन भइसकेपछि नेत्तृत्व तहले अल्मुताइरीलाई प्रशिक्षकबाट हटाउन चाहेको कुरा खुलस्त भइसकेको छ ।

एसियन कपको छनौट प्रतियोगिताबाट विदामा बसेका उनले अहिले राजिनामा दिएको बताएका हुन् । अल्मुताइरी उपलब्ध नभएपछि नेपाली राष्ट्रिय टोलीले आगामी असोजमा बंगलादेशसंगको मैत्रीपुर्ण खेलका लागि गत महिना प्रदिप हुमागाईलाई कार्यबाहक प्रशिक्षक नियुक्त गरेका थियो ।

कतार एफएको सहयोगमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताईरीले २०७७ चैत २२ गते देखि नेपाली राष्ट्रिय टोली सम्हालेका थिए । अलमुताईरीको प्रशिक्षणमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो । गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो । यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बनेको ४ महिना नवित्दै उनी विवादमा तानिएका थिए । तत्कालिन बरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङलाई आरोप लगाउँदै उनी पहिलो पटक विवादित बनेका थिए । पछि साफ च्याम्पियनसिपको फाइनल अघि नेपाली राष्ट्रिय टोलीबाट राजिनामा दिएको बताएका थिए । तर उनको बिषयमा कतार फुटबल संघले निर्णय गर्ने भएकाले राजिनामा स्विकृत भएको थिएन् ।

एसियनकप छनौट अघि उनको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षणमा रहेका १० खेलाडीले बन्द प्रशिक्षण छाडेपछि उनी विवादमा तानिएका थिए । बन्द प्रशिक्षण छाडेका १० खेलाडी र नियमित कप्तान किरण चेम्जोङबिना नै एएफसी एसियन कप छनोटका लागि अलमुताईरीले टिम घोषणा गरेका थिए ।

नेपाली फुटबलमा अल्मुताइरीको इन्ट्रीपछि धेरै युवा खेलाडीहरुले राष्ट्रिय टोलीमा डेब्युको अवसर पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार