Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलामको हाँसपोखरीमा मिनी कभर्डहल

इलामको हाँसपोखरीमा मिनी कभर्डहल

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र २४ २०७९


इलामको हाँसपोखरीमा मिनी कभर्डहल

इलाम । कराते खेलका लागि जिल्लामा पहिचान बनाएको इलामको रोङ गाउँपालिकामा मिनी कभर्डहल निर्माण गरिएको छ । अर्किडको राजधानी भनेर चिनिएको रोङ गाउँपालिका–३ हाँसपोखरी क्षेत्रमा कभर्डहल निर्माण गरिएको हो । रोङ गाउँपालिकाको २५ लाख, संसद बिकास कोष इलाम क्षेत्र नं १ को ५५ लाख र प्रदेश नं १ पर्यटन पूर्वाधार मन्त्रालयको ८ लाख सहित ६३ लाखको कभर्डहल निर्माण भएको जनाइएको छ ।

कभर्डहलमा मार्सल आर्ट, ब्याटमिन्टन, टेवलटेनिस लगायतको खेलहरुको प्रशिक्षण गर्न सकिन्छ । रोङकै गौरवको योजना उक्त कभर्डहलमा शौचालय र चेन्जिङ रुमको समेत निर्माण सकिएको वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले बताए । कभर्डहल निर्माणपछि खेलाडीहरुलाई बाह्रै महिना प्रशिक्षण गराउन सहज हुने अपेक्षा राखिएको छ ।

स्तरिय कभर्डहलको अभावका इलाममा इन्डोर गेमहरु समेत खुल्ला मैदानमा संचालन र प्रशिक्षण गराउनुपर्ने बाध्यता रहेको छ । खेलकुद क्षेत्रमा रोङले राष्ट्रिय अन्तरराष्ट्रिय स्तरको खेलाडीहरु उत्पादन गरेपनि उपयुक्त प्रशिक्षणस्थल थिएन् । सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयासहरु आंशिक रुपमा पूरा भएको रोङ खेलकुद बिकास समितिका संयोजक बिर्ख सुुब्बा बिक्कीले बताए ।

साढे ३ दशक कराते खेलको साधनामा लागेर अन्तराष्ट्रिय रेफ्रि योगेस चाम्लिङ आफ्नो लामो योजना पुरा भएको बताउँछन् ‘कभर्ड हल त बन्यो तर थुुप्रै आवश्यक्ताहरुको खाचो रहेको छ । घेरावारा, पार्क, खेल अभ्यासका आधुनिक सामाग्रीहरु, खेलअभ्यासका ऐना, म्याट लगायतको सामाग्रीहरु अभाव छ ।’ चाम्लिङले भने ‘ सामाग्रीहरु व्यवस्थापनपछि चाडै नै अन्तरराष्ट्रिय आमन्त्रण कराते प्रतियोगिता आयोजना गर्नेछौ ।’

कभर्डहल निर्माणपछि विभिन्न इन्डोर प्रतियोगिता आयोजना गरेर रोङमा खेलकुद पर्यटनलाई समेत अघि बढाउने गाउँपालिका अध्यक्ष मनिकुमार स्याङबो सुबासले बताए । उनले धार्मिक पर्यटनको गन्तव्य पाथीभरासंगै जोडेर खेलकुद पर्यटनलाई समेत प्राथमिकतामा राखिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार