फिक्कल । इलामको सुर्योदय नगरपालिकाले गत आर्थिक बर्षमा संचालित आयोजना तथा कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । सूर्योदय नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा १४ वटै वडाका वित्तिय र भौतिक प्रगतीको बारेमा वडा सचिवहरुले प्रस्तुत गरेका थिए । त्यसैगरी नगरपालिकाका बिषयगत शाखाहरुबाट भए गरेका कार्य सम्पादन र प्रगतीको बारेमा समेत सार्वजनिक गरिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कार्यवाहक नगर प्रमुख दुर्गा बरालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति रमेश प्रधान, नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल गदाल र उद्योग वाणिज्य संघका महासचिव तोयानाथ भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।
सूर्योदय नगरपालिकाका १४ वटै वडाका वित्तिय एवम भौतिक प्रगतीको अवस्थामा एकदमै कमजोर देखिएको छ । अधिकांश वडामा नगरपालिकाको महत्वकांक्षी योजनाको रुपमा लिइएको अलवेदर सडकमा प्रगती कमजोर हुँदा वडाको प्रगती समेत सुस्त देखिएको हो । अधिकांश वडामा पुँजीगत तर्फको खर्च ३० प्रतिशत माथि देखिएन् ।
वडा सचिवहरु अलवदेर सडकमा खर्च गर्न नसक्दा प्रगती कमजोर देखिएको गुनासो राखेका छन् । उनीहरुले गत आर्थिक बर्षमा वडाको बजेट सिलिङबाट कार्यान्वयनमा आएका आयोजनाहरुको प्रगती सार्वजनिक गरेका थिए । केही वडाहरुमा नगरले तयार गरेको लागत स्टिमेट अनुसार उपभोक्ता समितिले काम गर्न नसक्ने बताएपछि आयोजना संचालन हुन सकेन् । पुल र मन्दिर लगायतका संरचना निर्माणका लागि विनियोजित बजेट अनुसार काम गर्न नसक्ने बताएपछि सम्झौता भएका योजनाहरु समेत कार्यान्वयनमा आएनन् ।

कार्यक्रमका प्रमुख अतिथि कार्यबहाक नगर प्रमुख दुर्गाकुमार बरालले अघिल्ला योजनाको बारेमा समिक्षा गरेर आगामी योजनाको यात्रा तय गर्ने कार्यक्रममा वडाध्यक्ष सहितका जनप्रतिनिधि उपस्थित नहुनु दुःखद भएको बताए । उनले आफना कुरा राख्ने ठाउमा जनप्रतिनिधि नआउदा जनताका समस्याको समाधान हुँन नसक्ने बताए । बरालले भने ‘उहाहरुलाई जनताले आफना कुरा बोल्नका लागि भोट दिएर प्रतिनिधि पठाउनु भएको हो, जनताको भावनामा यसरी खेलवाड गर्न मिल्दैन ।’

कार्यक्रममा बरालले सूर्योदयको समृद्धिका लागि सबैले सकारात्मक सोच राखेर अगाडी बढनु पर्ने बताए । बरालले काम गर्ने क्रममा कुनै गल्ती कमजोरी भएको भए छलफल र बहस गरी सच्याएर अगाडी बढ्नु पर्नेमा जोड दिए । नेपाली कांग्रेसका उपसभापति रमेश प्रधानले नगरसभाले पास गरेका योजना र बजेटहरु कति कार्यान्वयमा आएर र कति फ्रिज भएर गए भन्ने बारेमा गहन समिक्षा आवश्यक रहेको बताए ।
निर्वतमान वडा सदस्य समेत रहेका प्रधानले नगरले अघि सारेका योजनाहरुमा सवै राजनीतिक दलहरुको सकारात्मक सहयोग रहेको बताए । नेकपा एकिकृत समाजवादीका अध्यक्ष कमल गदालले अलवेदर सडकको गुणस्तर खस्कदै गएको बताए । उनले निर्माण सुरु हुँदाको अवस्थामा जस्तो अहिले सडक नरहेको गुनासो राखे ।
गदालले नगरबाट योजना संचानल मात्र नभएर अनुगमनको पाटो समेत बलियो हुनुपर्ने बताए । उनले अहिले धेरै वडाहरुको अलवेदर सडक विग्रिएको भन्दै नगरको ध्यानाकर्षण गराए । कार्यक्रमका अध्यक्ष प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले गत आर्थिक बर्षको योजना र कार्यक्रमहरुको सवल पक्ष र दुर्वल पक्ष, अवसर र चुनौतीको समिक्षाबाट चालु आर्थिक बर्षको कार्यक्रममा मार्गनिर्देश हुने बताए ।

उनले अहिले टप टु डाउन नभएर बटम टु अप एप्रोच अनुसार काम भइरहेको बताए । भट्टराईले जनताको तहबाट गएका कार्यक्रमहरु धेरै सफल भएको बताए । कार्यक्रम नगरपालिकाका योजना अधिकृत ख्याम राईले संचालन गरेका थिए । कार्यक्रममा न्युन मात्रामा जनप्रतिनिधिहरु उपस्थित थिए । नगर क्षेत्रका १४ मध्ये ७ जना मात्र वडाध्यक्ष उपस्थित भएका थिए ।
कार्यपालिका सदस्य सहित ७३ को टिम रहेको नगरमा शनिबारको कार्यक्रममा अति न्यून संख्यामा मात्र जनप्रतिनिधि सहभागी थिए ।