इलाम । इलामको सदरमुकाम भित्रको सहरी सडक कालोपत्रेको काम शुरु भएको छ । मेची राजमार्गको धोविधार खण्डमा सडक भत्किएपछि ठुला सवारीसाधन इलाम बजार भित्रबाटै संचालनमा आउँदा क्षतिग्रस्त भएको सडक कालोपत्रे शुरु भएको हो ।

मेची राजमार्गको धोविधारा खण्डमा सडक भत्किएपछि ठुला सवारीसाधन इलाम बजार भित्रबाटै संचालनमा आएका थिए । पूर्वी पहाडको पाँचथर, ताप्लेजुङ्ग र तेह्रथुम आउजाउ हुने सवारीसाधन संचालन हुँदा इलाम बजार भित्रको सहरी सडक क्षतिग्रस्त भएको थियो । सहरी सडकमा भएर अत्याधिक लोड भएका सवारीसाधन संचालनमा भएपछि क्षति भएपछि सडक संघीय सरकारले कालोपत्रेका लागि बजेट विनियोजन गरेर कालोपत्रेको काम हुँदै आएको इलाम नगर प्रमुख केदार थापाले बताए ।

सहरी क्षेत्रका सडकमा हेव्वी इक्युमेन्ट संचालन हुँदा क्षति पुगेपछि इलाम नगरपालिकाले मर्मतका लागि सडक डिभिजन इलामलाई आग्रह समेत गरेको थियो । संघीय सरकारको बजेटबाट इलाम सदरमुकामको रत्नचोकबाट मेची राजमार्ग जोड्ने धोविधारसम्म कालोपत्रे हुनेछ । सडक कालोपत्रेका लागि सडक डिभिजन इलामले २०७९ जेठमा ठेक्का संझौता गरेको थियो । ठेक्काबाट सडक कालोपत्रेसँगै संहवाहिनी क्षेत्रमा रिटेनिङ वाल लगाउने काम समेत हुँदै आएको निर्माण व्यवसायी नविन तामाङले बताए ।

२०८० साल असार मसान्तसम्म सक्नुपर्ने सडक कालोपत्रेको कामको प्रगति अहिले ३५ प्रतिसत रहेको छ । सहरी सडकमा ३ सेन्टिमिटर बाक्लो प्रिमिक्स कार्पेट स्तरको कालोपत्रे हुँदै आएको छ ।
सडक डिभिजनबाट हुँदै आएको उच्च गुणस्तरको छ । मेचीराजमार्ग भत्किएपछि सबै सवारीसाधन इलाम बजार क्षेत्र भएर संचालन हुदा क्षति पुगेको सडक कालोपत्र भएपछि नगरबासीलाई सुविधा भएको इलाम नगरपालिका ७ का अध्यक्ष नरेश श्रेष्ठले बताए ।

सडक डिभिजन इलामका सव–इञ्जिनियर राजेश कुमार यादवका अनुसार इलाम बजार क्षेत्र सडक कालोपत्रेको काम दशै अगाडि नै सक्ने योजना छ । संघीय सरकारले २ करोड बजेट विनियोजन गरेकोमा सडक कालोपत्रेका लागि निर्माण व्यवसायले ११ प्रतिशत बिलोमा काम सक्ने गरि संझौता भएको थियो । सडक कालोपत्रेको काम अहिले १ करोड ८० लाखमा हुँदै आएको छ ।