इलाम । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि इलाममा १ हजार ३ सय भन्दा बढी खेलाडीले नाम दर्ता गराएका छन् । जिल्ला खेलकुद विकास समितिका अनुसार इलामबाट प्रदेश छनौटका लागि विभिन्न खेलका लागि १ हजार ३ सय ३९ जनाले खेलाडी फाराम दर्ता गराएका हुन् ।
फुटवल खेलमा महिला तर्फ १३० पुरुष तर्फ १९५, उसुमा महिला २५, पुरुष २४, भारात्तोलन महिला ४, पुरुष ५, कवड्डी महिला २१, पुरुष १८, तेक्वान्दो महिला ७०, पुरुष ६२ र रग्वी महिला १३, पुरुष १३ ले नाम दर्ता गराएका छन् ।
एथलेटिक्स महिला ४२, पुरुष ५२, साईक्लीङ महिला १, पुरुष ३, क्रिकेट पुरुष ६२, व्याटमिन्टन महिला ४, पुरुष ३०, बास्केटवल महिला १, पुरुष १४, वक्सिङमा १०, टेवल टेनिस महिला १०, पुरुष ४ जनाले खेलाडी फारम भरेका छन् ।
त्यस्तै करातेमा महिला १७६, पुरुष २४१, भलिवल महिला २८, पुरुष ४८, वुद्धिचाल महिला २ पुरुष २४, र जुडो महिला १५, पुरुष २० जनाले दर्ताले गराएको छ । क्रिकेट र वक्सिङ खेलमा महिला खेलाडीले फाराम दर्ता गराएका छैनन् ।
जिल्ला छनोटका लागि खेलकुद विकास समितिले खेलकुद सघंलाई छनौटका लागि जिम्मा दिए संगै समितिको सम्पुर्ण सदस्यलाई सहजिकरणका लागि संयोजक तोकिसकेको इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोलाले जानकारी दिए ।
संघ नभएका खेलका लागि इलाम जिल्ला खेलकुद विकास समितिले नै गर्ने कार्यालयले जनाएको छ । इलाम जिल्ला खेलकुद विकास समितिको कार्यालयले १७ खेल सिफारिस गरेको कार्यालय प्रमुख नारायण भट्टराईले बताए । यस पटक भने रग्वी र साईक्लीङ खेल इलामबाट सिफारिस गरेको भट्टराईले बताए ।
यस अघि ८ औ राष्ट्रिय खेलकुद प्रतियोगीताका १६ खेलमा सहभागिता जनाएका थिए । कुन खेलमा कति कोटा आउछ त्यो टुङगो लागेको छैन । प्रदेश खेलकुद विकास वोर्डले भदौ ५ गते देखी १० गते भित्र जिल्ला छनोट गरिसक्नुपर्ने निर्देशन दिएको छ । तर बजेटको सुनिश्चितता नहुँदा खेलाडी छनौटमा समस्या देखिएको छ । छनौटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राख्ने नराख्ने भन्ने अन्योलता रहेको भट्टराईले बताए ।