काठमाण्डौ । सजिव प्राणी भएपछी रोग नलाग्ने त कुरै भएन ! तर रोगको समयमै उपचार नहुँदा, औषधि नपाउँदा वा भएको औषधिको पनि सहि सदुपयोग नहुँदा बिरामीको ज्यानै पनि जाने गरेको छ । सरकारले धेरै औषधिहरु निःशुल्क वितरण गर्ने प्रावधान बनाएको छ । अन्य धेरै औषधीहरु स्वास्थ्य बिमा अन्तर्गत पाउने प्रावधान छ । तर पनि यी प्रावधानहरुको कार्यान्वयन पक्ष एकदमै कमजोर छ ।
भूकम्प, बाढी, पहिरो जस्ता महाविपत्ति तथा कोरोना जस्तो वैश्विक महामारीको समयमा पनि अत्यावश्यक औषधिको अभाव र कालोबजारी भएको हामीले देख्दै भोग्दै आएका छौं । काठमाडौंको सिनामंगलमा रहेको पुरानो घर थिएटरले मानव स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित औषधि माथि हुने राजनीति, कालोबजारी र माफियागिरीलाई रमाईलो ढंगले हास्य रसमा ढालेर प्रस्तुत गर्दैछ ।
नाटक सिटामोल मार्फत सरकारलाई झक्झक्याउँदैछ । सुलक्षण भारतीले लेखेको नाटकको निर्देशन जयराम ढकालले गर्दैछन् । नाटकमा सागर भट्टराई, अरुण पौडेल, संदेश कार्की, आलोक थामी, सरोज खालिंग, युनिशा बजगाईं, सबिता तामाङ, सरिता भुजेल, रितेश कार्की, टिका निरौला, अस्मिना भारती, धनलक्ष्मी राईको अभिनय रहेको छ ।
त्यसैगरी शिशिर गिरि, श्रवण यादव, प्रविण खरेल, सुरेश राई, पियुष कुँवर, सदीन लुइंटेल, तुलसी बोहोरा, अर्नव घिमिरे लगायत कलाकारको अभिनय रहेको छ । नाटक यहि श्रावण १२ गतेदेखि २५ गतेसम्म हरेक साँझ ५:३० मा र शनिवार अतिरिक्त शो दिउँसो १:३० बजे पनि मन्चन हुँदैछ ।
पुरानो घरले यस अघि ‘म’ ‘लाटिको छोरा’, ‘खत’ र ‘कनन हरलता’ नाटक मन्चन गरिसकेको छ । आफ्ना हरेक नाटकमा नयाँ नयाँ प्रयोग गर्ने गरेको पुरानो घर टिमले नाट्यप्रेमी दर्शकमाझ आफ्नो विशेष स्थान बनाउदै लागेको छ । गत माघमा मन्चन भएको नाटक ‘लाटिको छोरा’ अहिले युट्युबमा पनि उपलब्ध छ । प्रत्यक्ष हेर्न छुट्नुभएका दर्शकहरुले यो लिंकमा गएर हेर्न सकिनेछ ।
चैत्र-बैशाखमा मन्चन भएको नाटक ‘खत’ ले चौतर्फी प्रशंसा बटुलेको थियो । ‘खत’ जस्तो नाटक पछी आउँदै गरेको ‘सिटामोल’ ले त्यो उचाई छुन्छ कि छुंदैन थाहा पाउन श्रावण १२ गतेसम्म कुर्नुपर्ने छ ।