इलाम । नेपाल टेलिकमले सिडिएमए (स्काइ) फोनको टावर हटाउने निर्णयले इलामका उत्तरी क्षेत्र संचार विहिन बन्दै गएका छन् । पर्यटकीय क्षेत्र रहेका इलामका उत्तरी क्षेत्रमा बढी मात्रामा स्काइ फोनको मात्रै संचालन हुँदै आएका थिए । तर नेपाल टेलिकमले स्काइ फोनका टावर हटाएर जिएसएमको फोर जी सेवा विस्तार गर्ने योजना कार्यान्वयन गरेपछि उत्तरी क्षेत्रमा संचार सम्पर्क विहिन बन्ने भएको हो । टेलिकमको निति अनुसार इलामको जौबारीमा रहेको सिडिएमए (स्काइ) फोनको टावर हटाएपछि जिल्लाको उत्तरी माइजोगमाइ र सन्दकपूर गाउँपालिकाको हिमाली क्षेत्र तुम्लिङ, मेघमा, टङ्लु, आहालभञ्ज्याङ्ग, गैरीबास, कालपोखरी, बिखेभञ्ज्याङ्ग लगायतका क्षेत्रमा अहिले संचार संम्पर्क बिच्छेद भएको हो ।
सिडिएमए फोन नमाइचल्ने भएपछि पर्यटकीय क्षेत्रको व्यवसाय संचालनमा नै समस्या भएको माइजोगमाइ गाउँपालिका २ तुम्लिङकी पर्यटन व्यवसायी केशरी गुरुङ्गले बताइन् । पर्यटकीय क्षेत्रमा संचार सुविधा अति आवश्यक रहेकाले नेपाल टेलिमकले सिडिएमए फोनको टावर हटाएकाले समस्या भएको र तुम्लिङ्गमा जिएसएमको फोर जी सेवा भएको टावर जडान गर्नुपर्ने उनले बताइन् ।
इलाममा नेपाल टेलिकमका ५० बढी टावर रेहका छन् । सबै टावरहरुमा अहिले फोर जी सेवा जोड्ने काम भइरहेको र सिडिएम फोनको टावर हटाएर फोर जी सेवा जोड्ने काम भइरहेको नेपाल टेलिकम इलामका प्रमुख सुनिल सिंहले बताए ।