सन्दकपूर । इलामको सन्दकपूर गाउँपालिकाले पनि विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ । सन्दकपूर गाउँपालिकाले असारको तेस्रो सातादेखि विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको हो ।
स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्र मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको सन्दकपूर गाउँपालिकाका लेखा अधिकृत युवराज नेपालले बताए ।
अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिने सेवाग्राहीको बैंक खातामा हुने प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए । त्यसका लागि सम्बन्धित सेवाग्राहीको चेकको फोटोकपि भने अनिवार्य चाहिने छ ।
‘हामीले परिक्षणका रुपमा अनलाइन भुक्तानी सेवा सुचारु गरेका हौं’ लेखा अधिकृत युवाराज नेपालले भने, ‘अब कोही सेवाग्राही पनि चेकको पर्खाईमा लाइनमा बसिरहन पर्दैन । सिधैं उहाँहरुको खातामा रकम जम्मा हुनेछ ।’ महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा सन्दकपूरले परिक्षणका रुपमा विद्युतीय भुक्तानी सुरु गरेको हो ।
परिक्षणका रुपमा केही सेवाग्राहीको खातामा अनलाइन भुक्तानी गरिरहेको भएपनि साउनदेखि अनिवार्य गरिने लेखापाल भुपेन कट्टेलले बताए । विद्युतीय भुक्तानी सेवालाई अनिवार्य गरेपछि उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य हुनेछ ।
विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य हुने भएको हो ।
छिटोछरितो, भरपर्दो र विश्वासनीय लेखांकन र प्रतिवेदनका लागि सुत्र प्रणालीको महत्वपूर्ण योगदान रहेको छ । सुत्र प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्ने, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिन्छ ।
यसअघि पहिलोपटक इलामको देउमाई नगरपालिकाले र माङसेबुङ गाउँपालिकाले विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरिसकेको थियो । पछिलो समय माईजोगमाई गाउँपालिकाले पनि विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ ।