फिक्कल । इलामको सूर्योदय नगरपालिकामा अन्तरदेशीय पर्यटन सम्बन्धी अन्तरक्रिया गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश नं १ को आयोजनामा फिक्कलमा नेपाल भारतका पर्यटन व्यवसायी, पत्रकार र सरोकारवाला पक्षहरु बिच अन्तरक्रिया र प्रचार गोष्ठी गरिएको हो ।
कार्यक्रममा इलामका पर्यटन व्यवसायी, स्थानीय सरकारका जनप्रतिनिधि र भारतका विभिन्न क्षेत्रबाट सहभागी पर्यटनकर्मी र पत्रकारहरुसंग अन्तरदेशीय पर्यटन प्रर्वद्धनको बारेमा छलफल भएको थियो । कार्यक्रममा सूर्योदय नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, वडाध्यक्ष पेमा उगेन लामा सहभागि थिए ।
दार्जिलिङ, मिरिक, कालेम्पोङ लगायतका क्षेत्रबाट सहभागीहरु थिए । कार्यक्रमका सहभागीहरुले पर्यटन प्रर्वद्धनका लागि दोहोरो सम्बन्ध स्थापित गर्नुपर्ने बताए । उनीहरुले दुवै देश तर्फ पर्यटकहरुलाई सहज प्रवेश र भ्रमणका लागि आ आफ्नो पक्षबाट सहयोगको प्रतिवद्धता व्यक्त गरेका छन् ।
पर्यटकहरुको आगमन र पर्यटन प्रर्वद्धनका योजनाहरु आदान प्रदान गरिएको नगर प्रमुखका स्वकिय सचिव दिपेश राईले जानकारी दिए ।