चुलाचुली । इलामको चुलाचुली गाउँपालिकाले सोमबारदेखि विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको हो । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ९सुत्र० मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको हो । अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम सिधै भुक्तानी लिने सेवाग्राहीको बैंक खातामा हुने चुलाचुली गाउँपालिकाका लेखा अधिकृत मिलन भट्टराईले जानकारी दिए । ।
त्यसका लागि सम्बन्धित सेवाग्राहीको चेकको फोटोकपि भने अनिवार्य चाहिने छ । ‘हामीले परिक्षणका रुपमा सोमबादेखि अनलाइन भुक्तानी सेवा सुचारु गरेका हौं’ लेखा अधिकृत भट्टराईले नयाँ बुलन्दसँग भने, ‘अब कोही सेवाग्राही पनि चेकको पर्खाईमा लाइनमा बसिरहन पर्दैन । सिधैं उहाँहरुको खातामा रकम जम्मा हुनेछ ।’
महालेखा नियन्त्रक कार्यालयले आगामी साउन १ गतेदेखि सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा चुलाचुलीले परिक्षणका रुपमा विद्युतीय भुक्तानी सुरु गरेको हो ।
परिक्षणका रुपमा केही सेवाग्राहीको खातामा अनलाइन भुक्तानी गरिरहेको भएपनि साउनदेखि अनिवार्य गरिने भट्टराईले बताए । विद्युतीय भुक्तानी सेवालाई अनिवार्य गरेपछि उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य हुने लेखा अधिकृत भट्टराईको भनाई छ ।
यसअघि देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र माईजोगमाई गाउँपालिकाले विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरिसकेका छन् ।