Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामको माङसेबुङ र माईजोगमाई गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

इलामको माङसेबुङ र माईजोगमाई गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

  • सन्देश सम्वाददाता
  • सोमबार, असार २० २०७९


इलामको माङसेबुङ र माईजोगमाई गाउँपालिकामा विद्युतीय भुक्तानी सेवा सुरु

फिक्कल । इलामको माङ्सबुङ र माईजोगमाई गाउँपालिकाले विद्युतीय भुक्तानी ‘इएफटी’ सेवा सुरु गरेको छ । माङ्सेबुङले आइतबारबाट र माईजोगमाईले सोमबारबाट इएफटी सेवा सुरु गरेका हुन् । महालेखा नियन्त्रक कार्यालयले आगामी आर्थिक बर्षबाट सबै स्थानीय तहहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा जान निर्देश गरिसकेकोमा २ पालिकाले चालु आर्थिक बर्षबाट विद्युतीय भुक्तानी सुरु गरेका छन् ।

‘क्यास लेस’ को अवधारणा अन्तर्गत स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मार्फत भुक्तानी प्रणालीको सुरुआत गरिएको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भाग्वत प्रसाद रेग्मीले बताए । अब गाउँपालिकाले भुक्तानी गर्नुपर्ने रकम भुक्तानी लिनेको खातामा जम्मा हुने जनाइएको छ । त्यसका लागि सम्बन्धित सेवाग्राहीको खाता नम्बर गाउँपालिकालाई उपलब्ध गराउनुपर्ने हुन्छ ।

विद्युतीय भुक्तानी प्रणालीले सुशासन, वित्तीय अनुशासन र उत्तरदायित्व कायम गर्नमा सघाउ पुग्ने रेग्मीले बताए । विद्युतीय भुक्तानी सुरु भएसँगै उपभोक्ताले अब भुक्तानीका लागि चेक लिनुपर्ने बाध्यताको पनि अन्त्य भएको माङसेबुङ गाउँपालिकाकी लेखा अधिकृत मञ्जु भट्टराईले बताइन् ।

‘अब चेकमा त्रुटि हुने, हस्ताक्षर नमिल्ने तथा चेक लिनकै लागि गाउँपालिका धाउनुपर्ने समस्याको समेत अन्त्य भएको छ ।’ भट्टराईले भनिन् ‘विद्युतीय भुक्तानी प्रणाली सुरु भएपछि अब सेवाग्राहीलाई समेत सजिलो हुन्छ । चेकमार्फत कारोबार झन्जिटलो हुँदै आएकोमा अब त्यसको अन्त्य भएको छ’ ।

सुत्र प्रणालीका आधारमा विद्युतीय भुक्तानी गर्ने विषयमा कोष तथा लेखा नियन्त्रण कार्यालयले जिल्लाका स्थानीय तहका लेखा शाखाका कर्मचारीलाई तालिम समेत दिएको थियो । सुत्र प्रणालीले स्थानीय तहमा पारदर्शीता कायम गर्न सहयोग गर्ने, चेकबाट हुने कारोबारको तुलनामा विद्युतीय कारोबार छिटो छरितो हुनुका साथै प्रक्रियागत झन्झट कम गरि कम जनशक्तिबाट प्रभावकारी काम गर्न सकिने लेखा अधिकृत रेश्मा राईले बताइन् ।

‘ हस्ताक्षर नमिल्ने, सेवाग्राहीहरुलाई बारम्बार भुक्तानीको लागि पालिका धाउनुपर्ने झन्झटबाट मुक्त हुनेछन् । थोरै कर्मचारीबाट समेत काम सम्पन्न हुन सक्छ ।’ उनले भने ‘ भुक्तानी लिनका लागि नाम वा अकाउन्ट नम्बर नमिल्दा भुक्तानी नै नहुने भएकाले हुन सक्ने त्रुटी समेत कम हुन्छ । पालिकामा पारदर्शीता समेत देखिन्छ ।’
विद्युतीय भुक्तानी भनेको के हो ?
कम्प्युटर, मोबाइल, कार्ड जस्ता उपकरणहरूको प्रयोग गरी इन्टरनेटका माध्यमबाट सम्पादन गरिने भुक्तानी कारोबारलाई विद्युतीय भुक्तानी भनिन्छ । विद्युतीय भुक्तानीमा नगद, चेक आदिको प्रयोग गरिन्न । नेपालमा इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, कार्ड, क्यूआर पेमेन्ट लगायतका माध्यमबाट विद्युतीय भुक्तानीहरु हुने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार