फिक्कल । पुर्वी पहाडका कृषि प्राविधिकहरुलाई गुणस्तरिय चिया खेती सम्बन्धी तालिम दिइएको छ । चिया तथा कफि विकास बोर्ड चिया विस्तार योजना फिक्कलको आयोजनामा स्थानीय तहका प्राविधिकहरुलाई चियाको गुणस्तरिय उत्पादन र परिक्षण सम्बन्धी तालिम दिइएको हो । इलाम, पाँचथर र ताप्लेजुङका प्राविधिहरुलाई चिया तथा कफिको रोपण, काटछाट, प्रशोधन र टेस्टिङ सम्बन्धी तालिम दिइएको चिया विस्तार योजनाका प्रमुख इन्द्र अधिकारीले बताए ।
उनले सवै पालिकामा चिया टेस्टिङका लागि दक्ष प्राविधिकहरु उत्पादन गराउने उद्धेश्यका साथ तालिम आयोजना गरिएको बताएका छन् । ३ दिनसम्म चलेको तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको छ । सूर्योदय नगर उपप्रमुख दुर्गाकुमार बरालको प्रमुख आतिथ्यता र वडा नं ८ का वडाध्यक्ष जंग गुरुङको विशेष आतिथ्यतामा तालिम समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै उपप्रमुख बरालले चियाको खुल्ला बजार हुनुपर्ने बताए । उनले नेपाली तयारी चियाको मुख्य बजार भारत भएपनि विभिन्न समस्याहरु सृजना भइरहेको बताए । बरालले समय अनुसार हरियोपत्तीको मुल्य निर्धारण गर्नाले मात्र किसानहरुले उत्पादनको मुल्य पाउने बताए । उनले किसानहरुले उत्पादन गरेको हरियोपत्ती खुल्ला रुपमा विक्री वितरण गर्न पाउनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले चियाको समस्या समाधानको लागि सूर्योदय नगरपालिकाले समिति बनाएर अघि बढेको बताए । उनले समितिले चियाको गुणस्तर कार्यान्वयनमा किसानमुखी कार्यक्रम ल्याएर समस्या समाधान गरिने बताए । कार्यक्रममा बोल्दै चिया विस्तार योजनाका प्रमुख अधिकारीले नेपाली चियाको आफ्नै क्लोन नहुँदा समस्या रहेको बताउँदै नार्कसंगको सहकार्यमा इलाम र सोक्तिम चिया बगानको उत्पादनबाट नेपालको आफ्नै क्लोन बनाउन अनुसन्धान कार्य अघि बढाएको बताए ।
कार्यक्रमका सहभागिहरुले गुणस्तरिय चिया खेती सम्बन्धीको प्रयोगात्मक तालिमले पालिका स्तरमा काम गर्न सहज हुने बताए । उनीहरुले चिया खेती सम्बन्धी जानकारी नहुँदा समेत स्थानीय तहमा गुणस्तरीय उत्पादनको सहजिकरणको लागि समस्या भइरहेको बताए । कार्यक्रममा पाँचथर र ताप्लेजुङका प्राविधिकहरुलाई कफि सम्बन्धी समेत तालिम दिइएको थियो ।

सहभागिहरुले फिक्कल आसपासका उद्योगमा पुगेर नै प्रयोगात्मक रुपमा चिया खेती र प्रशोधन सम्बन्धी जानकारी लिएका थिए । उनीहरुले कार्यक्रमस्थलमा चियाको गुणस्तर र स्वाद परिक्षण समेत गरेका छन् ।