फिक्कल । इलामको माई नगरपालिकामा सामुदायिक बन मासेर निजि स्तरबाट पार्क निर्माण गरिएको प्रति नेपाली कांग्रेस इलामले आपत्ति जनाएको छ । जिल्ला सभापति डम्बर खड्काले प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न शक्ति केन्द्रको आडामा सक्रिय भुमाफियाहरुलाई कारवाही गर्न माग गरेकाे हाे ।
माई नगरपालिका २ र ८ मा अविस्थत ह्याप्पी ड्रिम्स द्धारा सञ्चालित चेप्टी फनपार्कले सरकारी जमिन हडपेको समाचार आएपछि ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ । विज्ञप्तीमा लेखिएको छ ‘ फनपार्क संचालक दिनेश शिवाकोटी, सरकारी कर्मचारीहरु राजनीतिक व्यक्तिहरुको मिलेमतोमा वातावरणिय दृष्टिले अति सम्वेदनशिल चुरे क्षेत्रमा न्युनतम वातावरणिय परिक्षण र यसको असरलाई वास्तै नगरी सरकारी स्वामित्वकमा रहेको जग्गा अनाधिकृत रुपमा निर्माण गरिएको यस प्रकारको संरचनाले दिर्घकालिन वातावरणिय असर समेत पु¥याउने पक्का छ । ’
इलामको माई नगरपालिकामा चुरेको वन मासेर ‘फन पार्क’, नवनिर्वाचित मेयरको पनि संलग्नता
कांग्रेसले सरस्वती सामुदायिक वनको ४५ रोपनी र ३ सय रोपनी ऐलानी (सरकारी) जग्गामा मनोमानी तवरबाट फनपार्क संचालन गर्नु गैरकानुनी कार्य भएको जनाएको छ । जनप्रतिनिधि र वन कार्यालयको कर्मचारीहरु समेतको संलग्नताले राजनीतिक संरक्षण देखिएको जनाइएको छ । ‘ पुर्व जिल्ला वन कार्यालयका वन प्रमुख इन्द्रमणी भण्डारी, वर्तमान माई नगरका मेयर खम्बसिंह लिम्बु, माई नगर वडा नं २ का वडाध्यक्ष उर्दबहादुर राई लगायतका व्यक्तिहरुको नाम मुछिनुलाई यस कार्यमा सरकारी र राजनीतिक संरक्षण भएको पुष्टि हुन्छ ।’ विज्ञप्तीमा थप लेखिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत मुद्धा पुगेकाले दोषिलाई कानुनी दायरामा ल्याई राज्यको सम्पती र चुरे क्षेत्रको संरक्षण गर्दै शक्ति केन्द्रको आडमा सक्रिय भु–माफियाहरुलाई कारवाही गर्न कांग्रेसले माग राखेको छ ।
