Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चुनाव जित्न धर्मगुरुको शरण, आत्मानन्दलाई खुशी पार्न दलहरुले उम्मेदवारी नै दिएनन् !

चुनाव जित्न धर्मगुरुको शरण, आत्मानन्दलाई खुशी पार्न दलहरुले उम्मेदवारी नै दिएनन् !

  • लोकल सन्देश
  • शुक्रबार, बैशाख २३ २०७९


चुनाव जित्न धर्मगुरुको शरण, आत्मानन्दलाई खुशी पार्न दलहरुले उम्मेदवारी नै दिएनन् !

एमाले अध्यक्ष केपी शर्मा ओली बुधबार सुवास नेम्वाङलाई लिएर धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न पुगे । माङसेबुङ गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने लारुम्बा किराँत धर्मको प्रमुख आस्थास्थल मानिन्छ । ओलीले धर्म गुरुमार्फत आफ्नो पार्टीलाई सहयोग मागेको बताइन्छ ।

किराँत धर्मगुरु फकाउन एमालेमात्रै होइन, हरेक दलका नेता धाउने गर्दछन् । गुरुलाई फकाउनकै लागि दलहरुले माङसेबुङको वडा नम्बर ५ मा उम्मेदवारी समेत दिएनन् । धर्मगुरु लिङ्देनले राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट यसअघि पनि वडाध्यक्ष जितेका नरेन्द्रकुमार राईलाई समर्थन गरेपछि अन्य दलले उम्मेदवारी नदिएका हुन् ।

गठबन्धनमा आबद्ध नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमात्रै होइन, नेकपा एमाले र राप्रपाले समेत त्यहाँ वडाध्यक्षको उम्मेदवारी दिएका छैनन् । जनमुक्ति पार्टीले पहिले पनि वडाध्यक्ष जितेको हो माङ्सेबुङमा ।

त्यहाँ हामीले जनमुक्ति पार्टीलाई सघाउने भनेका छौं । त्यो धार्मिक क्षेत्र पनि हो । जम्मै किराँत धर्ममात्रै मान्ने मतदाता भएका कारण त्यो वडामा चाहिँ चुनाव नगराऔं भन्ने हिसावले पनि पहल गयौं,’ माओवादी इलामका नेता धिरेन्द्र शर्मा (रमण) ले भने, ‘त्यो प्रस्ताव मैले नै गरेको थिएँ । पछि गठबन्धनका नेताले त्यही कुरालाई स्वीकार गरेको छ । पछि एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका कारण त्यहाँ सर्वसम्मत भने हुन सकेन । त्यहाँ एमालेले पनि उम्मेदवारी दिएको छैन ।’

०७४ सालको निर्वाचनमा पनि माङसेबुङ–५ मा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट वडाध्यक्षमा नरेन्द्र राईसहितको प्यानलले जितेको थियो । त्यसबेला भने दलीय प्रतिस्पर्धा भएको थियो । राईले त्यसबेला ४८३ मत ल्याएर जितेका थिए । हाल २०१९ मतदाता रहेको वडा नम्बर ५ बाट अत्यधिक मत ल्याएर आफू जित्ने राई बताउँछन् ।

‘म त अत्यधिक मत ल्याएर जित्छु भन्ने लागेको छ । समाजसेवी, बुद्धिजीवीहरुदेखि सबै क्रियाशील पार्टीहरुले मलाई समर्थन गर्नुभएको छ,’ उनले भने, ‘यो मुलुककै लागि उदाहरणीय हुनसक्छ । मेरो विपक्षमा एक जना व्यक्ति उठ्नु भए पनि म ढुक्क छु ।’

आफूलाई गुरुको आशीर्वाद प्राप्त भएकै कारण दलहरुले समर्थन गर्न बाध्य भएको उनको भनाइ छ । ‘माङसेबुङको किराँत धर्मावलम्वीको आस्थामा विराजमान गुरुजी पनि यो वडाको नागरिक हुनुहुन्छ । यो वडामा उहाँ पनि सामाजिक क्षेत्र, आर्थिक क्षेत्रसँग जोडिएका कारणले उहाँको समर्थन कहाँ छ भन्ने कुरा पनि राजनीतिक दलले हेरेको होला,’ राईले भने,

‘त्यसो हुँदा नरेन्द्र राईलाई गुरुले समर्थन गर्नुभएको छ । अब नरेन्द्र राईको विरोध गर्दा गुरुको विपक्षमा गएको सन्देश जाने भएको कारण पनि मलाई समर्थन गर्नुभएको होला ।’ उनलाई एक जना स्वतन्त्र उम्मेदवार सुव दल सेप्लिङले टक्कर दिइरहेका छन् । उनी यसअघिका काँग्रेस कार्यकर्ता हुन् । यद्यपि हाल काँग्रेसबाट राजीनामा दिएर आफू उम्मेदवार बनेको उनले बताउने गरेका छन् ।

सो क्षेत्र पशुबली र मदिरा निषेधित क्षेत्र हो । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । बर्सेनि मंसिर १८ गते धर्मगुरु लिङ्देनको र फागुन ३ गते गुरुधर्मपत्नी साँवा पवित्रहाङमा लिङ्देनको शुभजन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रूपमा मनाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार