फिक्कल । बैशाख लागि सक्दा समेत इलामको फिक्कलमा चिसो भने अझै कायम नै थियो । नयाँ बर्ष प्रवेशसंगै बैशाख २ गते मेची राजमार्गमा मानिसहरुको भीड कायम नै थियो । साँझको समयमा धेरै जसो मालबाहक सबारी गुड्ने राजमार्गमा मानिसले खचाखच भरिए, कारण थियो तेश्रो संस्करणको सूर्योदय सडक महोत्वसको अन्तिम दिन मन्त्र व्यान्डको कन्सर्ट ।
राजमार्गमा नै स्टेज बनाइएको थियो । २२ वर्ष अघि छिमेकी देश भारतको दार्जिलिङमा स्थापित मन्त्र ब्यान्डको कार्यक्रम हुने भएपछि साँझको ८ नबज्दै मानिसहरुको भिडले सवारी आवतजावतमा समेत अवरोध भएको थियो । मेची राजमार्गको बिचमा नै स्टेज बनाइएको थियो ।
वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामा स्टेजबाट बारम्बार सवारीसाधनलाई बाटो छाडिदिन आग्रह गरिरहेका थिए । मेची राजमार्गका साँझको समयमा मालबाहक सवारीसाधन गुड्ने गर्छन् । ट्राफिक प्रहरीहरु सवारी आवागमन सहज बनाउने प्रयास गरिरहेका थिए । फिक्कलबासीको प्रतिक्षा थियो मन्त्र व्यान्डको ।
गोर्खालीको छोरो म, जीवन हाम्रो, कला संस्कृतिहरु, एकान्तमा, हिमाली नेपाली, आकाशैमा, सधैँ–सधैँ जस्ता दर्जनौँ चर्चित गीतहरू गाएर देश–विदेशको चर्चा कमाएको रक–पप ब्याण्ड मन्त्रका सदस्यहरुलाई करिब साढे ८ बजे वरिपरि डीजे लाइट जोडेको स्टेजमा देख्नासाथ दर्शकहरुले हुटिङ मच्चाउन सुरु गरिहाले ।
लिड गायक भास्कर देवानको ‘नमस्ते फिक्कल’ भन्ने सम्बोधनका साथ कन्सर्ट सुरु भयो । ८ः५५ बजेबाट करिब २ घण्टासम्म चलेको कन्सर्ट हेर्न फिक्कलबासीहरु मेची राजमार्ग नै ओगटेर बसेका थिए । मुख्य गायकमा भास्कर देवान, गितारमा प्रज्ञा लामा, ड्रममा बिर्जु चौधरी, किबोर्डमा मनिष थापा, बेस गितारमा प्रभास सुब्बा, बाँसुरी र सेक्साफोंनमा विधानले २ दशकको अवधिमा ब्यान्डले सृजना गरेको गोर्खालीको छोरो, कहिले हुरुरु हावा चल्छ, पारी गावैमा बसेकी मेरी मायाले, जीवन हाम्रो, कला संस्कृतिहरु, सारा संसार तिम्रै निम्ती, सधै सधैm खुल्ला आँखाले लगायत आफ्ना नयाँ र पुराना १३ वटा गित सुनाए । महोत्सवको पहिलो दिन गायक रोशन गुरुङ र अन्य कलाकारको प्रस्तुतीमा समेत मानिसहरुको बाक्लो उपस्थिती रहेको थियो ।
कन्सर्टको बिच विचमा वडाध्यक्ष लामाले पटक पटक सडकमा मालबाहक सवारीसाधनलाई बाटो छाड्न आग्रह गरिरहेका थिए । भीडका कारण ३ घन्टासम्म मेची राजमार्गमा सवारी व्यवस्थापन गर्न ट्राफिकलाई हम्मेहम्मे परेको थियो । सडक महोत्सव सूर्योदय होटल ब्यवसायी संघ र आयाम युनाईटेड क्लब फिक्कलको आयोजनामा नयाँ बर्षको अवसरमा बैशाख १ र २ गते संचालन भएको हो ।
कोभिड संक्रमणका कारण विगत २ बर्ष देखि सडक महोत्सव हुन सकेका थिएन् ।