इलाम । इलामको सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक सार्वजनिक गरेको छ । नगरले ‘हाम्रो सूर्योदय’ नाम दिएर बनाएको पाठ्यपुस्तक आज एक समारोहका विच लोकार्पण गरेको हो । पाठ्यपुस्तकलाई नगरपालिका क्षेत्रको सबै वडाहरुमा रहेका कक्षा १ देखि कक्षा ५ सम्म सामुदायिक र संस्थागत विद्यालयमा आगामी शैक्षिक सत्रबाट लागु गरिनेछ ।
पाठ्यपुस्तक संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चा, नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराई र २ जना विद्यार्थीले लोकार्पण गरेका हुन् । नगरले गत बर्ष कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम सार्वजनिक गरेको थियो । सोही आधारमा तयार गरिएको कक्षा ५ सम्मको पुस्तक सार्वजनिक गरिएको हो । कक्षा ६ देखि ८ सम्मको पुस्तक लेखन कार्य अघि बढाइएको छ ।
करिब ३ बर्ष लगाएर विज्ञ टिमले विभिन्न चरणमा जनप्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक शिक्षा सम्बद्ध सरोकारवाला लगायतसँग छलफल गरी तयार गरेको पाठ्यक्रममा आधारित रहेर पुस्तक लेखिएको थियो । पुस्तकमा सूर्योदय नगरपालिकाको चिनारी, स्थानिय धार्मिक स्थलहरू, विविध जातजातिहरू, स्थानिय चाडपर्वहरू, स्थानिय भाषाहरु, स्थानीय खानेकुराहरू, स्थानीय पर्यटन, स्रोत तथा साधनहरू लगायतका विषयवस्तु समेटिएका छन् ।

पुस्तकमा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषय समेटिएका छन् । आधारभूत तहको ८ सय पूर्णाङ्क मध्ये १ सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार नगरपालिकाले पाठ्क्रममा आधारित पाठ्पुस्तक निर्माण गरेको हो ।
पाठ्यक्रम बनाउन सघाउने विज्ञ र पाठ्यपुस्तक लेखनमा सहभागि शिक्षकहरुलाई सम्मान गरिएको छ । साथै आज नै नगर क्षेत्रको ९ र १० नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रम मुक्त वडा समेत घोषणा गरेको छ । नगरले बालमैत्री स्थानीय तह बनाउने उद्धेश्यका साथ पहिलो चरणमा २ वटा वडालाई बालैत्री घोषणा गरेको हो ।

सूर्योदयले यसै बर्षबाट ५१ वटा सुचक तयार पारेर बालमैत्री नगरको कामलाई अघि बढाएको थियो । चाडै नै १४ वटै वडालाई बालमैत्री बनाउनका लागि कामहरु अघि बढेको छ । बालमैत्री बनाउन भुमिका खेल्ने बाल क्लबका प्रतिनिधि, स्वास्थ्यकर्मी, जनप्रतिनिधि लगायतलाई सम्मान समेत गरिएको छ ।
नगर प्रमुख रणबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा लेप्चाको प्रमुख आतिथ्यता र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।

वडा नं १० का वडाध्यक्ष पेमा उगेन लामाले स्वागत मन्तव्य राखेको कार्यक्रममा संविधानसभा सदस्य लाप्चा, प्रमुख प्रशासकिय अधिकृत भट्टराई, वडाध्यक्ष देवेन्द्र आचार्य, पाठ्यपुस्तकका लेखक गणेश प्रसाद आचार्य, विज्ञ विवेक विनय, पाठ्यपुस्तकका प्रधान सम्पादक गणेशराज अधिकारी, राष्ट्रिय बाल परिषद प्रदेश १ का सुमन अधिकारी, प्याब्सन सूर्योदयका अध्यक्ष लाकेल लामाले मन्तव्य राखेका थिए ।
त्यसैगरी विद्यालय व्यवस्थापन समितिका तर्फबाट दिननाथ मिश्र, फिक्कल माविका प्रधानाध्यापक गंगा महत, बाल अधिकारकर्मी साधना फागो, नगर बाल सञ्जाल अध्यक्ष सुम्निमा राई, रिन्छेन तामाङ लगायतले आफ्ना भनाई राखेका थिए ।
