फिक्कल । इलामको रोङ गाउँपालिकामा रहेको करसोङ करिडोरको औपचारिक रुपमा उद्धघाटन गरिएको छ । वडा नं ३ को हाँसपोखरी देखि वडा नं ६ को मेची खोलासम्मको २९ किलोमिटर करिडोरको संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चाले रिवन काटेर उद्धघाटन गरे ।
११ बजे उद्धघाटनपछि कार्यक्रममा सहभागिहरु हाँसपोखरीबाट गुगल पोइन्ट, पिङडाँडा, दैले हल्लने काउले हुदै रोङ ६ मा रहेको झण्डीडाँडामा पदयात्रामा सहभागि भए । १२ किलोमिटरको पदयात्रामा सहभागिहरुलाई विचबाटोमा स्थानीय बासिन्दाले अर्गानिक परिकार चखाएर स्वागत गरेको वडाध्यक्ष मणिकुमार स्याङ्वो सुवासले जानकारी दिए ।

विभिन्न जातजातिको झाँकी सहित ३ बजे झण्डीडाँडामा पुगेर औपचारिक कार्यक्रम गरिएको थियो । गाउँपालिका अध्यक्ष शम्शेर राईको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य टिकाराम सुब्बा लाप्चाको प्रमुख आतिथ्यता र प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पर्यटन कार्यालय काँकडभिट्टाका निरज कट्टेल, पर्यटन अभियन्ता अर्जुन कार्की लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रम दाैरान मौसम प्रतिकुल बनेपछि प्रदेश सांसद शर्मा बाहेक अन्य अतिथिहरुले मन्तव्य राखेनन् ।
सहभागिहरुलाई साँझमा सिस्नु र स्थानीय साकाहारी परिकारले स्वागत गरिएको छ ।