इलाम । मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा बागमती युवा क्लबको चुनौती ४–२ गोल अन्तरले पन्छाउँदै मनाङले अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।
मनाङको जीतमा नाइजेरियन खेलाडी अफिज ओलावलेले २ गोल गरे । रुपेश केसीको नाममा एक गोल र एक गोल उपहार पाएको थियो । बागमतीको लागि विमल घिसिङ र ट्रिनिडा एन्ड टोवागोका जोमाउल फ्रेन्कोइचले गोल गरे । खेलमा सुरुवाती अग्रता मनाङले लिएको थियो ।
खेलको १४ मिनेटमा मनाङका ओलावलेले गोल गरे । तर, मनाङको अग्रता लामो समयसम्म टिक्न सकेन् । २७ औ मिनेटमा विमलले खेल बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको खेलमा दोश्रो हाफमा ४ गोल सम्भव बन्यो । खेलको ५३ औँ मिनेटमा जमाउलले गोल गर्दै बागमतीलाई अग्रता दिलाएका थिए ।
६७ औँ मिनेटमा मनाङले आत्मघाती गोलबाट खेल बराबरीमा ल्याउन सफल रहयो । बल क्लियर गर्ने क्रममा बागमतीका सिलो मार्टिनले आत्मघाती गोल गरे । खेलको ७० औँ मिनेटमा मनाङका कप्तान विमल रानाको पासमा ओलावलेले गोल गर्दै मनाङलाई अग्रता दिलाए । खेलको ८१ औँ मिनेटमा मनाङका लागि रुपेश केसीले गोल गरे ।
बागमतीका गोलरक्षक मनोज प्रधानबाट रिवाउन्स भएको बललाई उनले गोलमा परिणत गरेका थिए । बागमती आयोजक दमकलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेको थियो । शुक्रबारको खेलको म्यान अफ दि म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । शनिबारको दोस्रो क्वाटरफाइनल खेल गोर्खा ब्वाइज र पुलिस क्लब भारतबीच हुनेछ ।