गोर्खे : हिमालय माध्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेमा “कालुमान, लक्ष्मिमाया, पुष्पा श्रेष्ठ जेहेन्दार छात्रवृत्ति” वितरण कार्यक्रम सम्पन्न भएको छ । विविध अतिरिक्त क्रियाकलापका साथ सम्पन्न कार्यक्रमबाट वडा भरिका सामुदायिक तथा संस्थागत गरि ९ विद्यालयका जेहेन्दार विद्यार्थीहरु पुरस्कृत भएका छन् ।
कार्यक्रमको अवसरमा अन्तर सदनात्मक हाजिरिजवाफ,नृत्य र हस्तलेखन प्रतियोगिता सम्पन्न भएको प्रधानाध्यापक नित्यानन्द सापकोटाले जानकारी दिए । संस्थाका अध्यक्ष ध्रुव कुमार प्रधानको अध्यक्षता एवं वडाध्यक्ष राजकुमार शेरेङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थापक परिवारबाट चन्द्रमान श्रेष्ठ र परिवारका अन्य सदस्यहरु उपस्थित थिए ।
हिमालय माध्यमिक विद्यालयको स्थापनाकालमा योगदान पुर्याएका कालुमान,लक्ष्मिमाया र पुष्पाको निधनपछि छोराहरु गोपाल र चन्द्रमान श्रेष्ठ लगायत परिवारले बावुआमाको स्मृतिमा उक्त छात्रवृत्ति कोष स्थापना गरेका थिए । वि सं २०६५ सालमा स्थापना र वितरण शुरु गरिएको छात्रवृत्तिले जेहेन्दार विद्यार्थीको क्षमतालाई सम्मान र प्रोत्साहन गर्दै आएको प्रधानाध्यापक सापकोटा बताउँछन् ।
विभिन्न राजनितीक दलका प्रतिनिधि,विभिन्न विद्यालयका शिक्षक,विद्यार्थी,अविभावक लगायतको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा संस्थाका सचिव भिम बहादुर खापुहाङ्गले स्वागत मन्तब्य राखेका थिए । शिक्षकद्धय निधि प्रसाद पोख्रेल र किरण नेपालले संचालन गरेका थिए ।